एसएमजी चोरी प्रकरण : दुई वर्षदेखि जेलमा रहेका निर्दोष दुई सैनिक रिहा

लोकपथ
2.8k
Shares

चितवन । हतियार चोरीको आरोपमा साढे दुई वर्षदेखि जेल जीवन बिताई रहेका निर्दोष दुई सैनिक रिहा भएका छन् । चितवनको कालीबहादुर गणबाट हराएको एसएमजी हतियार चोरी गरेको आरोपमा जेल परेका अमल्दार लबकुमार गुरुङ र जवान सरोज तामाङ निर्दोष सावित भएपछि आज रिहा भएका हुन् ।

यद्यपी उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको छ ।
सैनिक विशेष अदालतले शुक्रबार बिहान उनीहरु निर्दोष भएको ठहर गरेपछि तत्काल रिहा गर्नका लागि चितवन कारागार प्रशासनलाई फैसलासहित पत्र पठाएको थियो ।

सैनिकद्वयलाई उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित रक्षा सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा संलग्न इजलासले सफाई दिएको हो ।

२०७६ वैशाख ६ गते सैनिक जनरल समरी अदालतले हतियार चोरीको अभियोगमा अमल्दार लबकुमारलाई १० वर्ष र जवान सरोजलाई ७ वर्ष जेलसजाय तोकेको थियो ।

गुरुङ र तामाङले अनाहकमा साढे २ वर्ष जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । तर, त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।

चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो । दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर–२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि बल्ल सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो ।

गत असार २८ गते चितवनमा सैनिक भरत गुरुङको हत्यामा साढे दुईवर्ष अगाडि चोरिएको भनिएको सोही हतियार प्रयोग गरी सैनिक गंगाधर ढकालले हत्या गरेको पुष्टी भएपछि गुरुङ र तामाङ निर्दोष ठहरिएका हुन् ।

ढकालले सो एसएमजी आफूले दुई वर्ष अगाडि कालीबहादुर गणबाट चोरेको साविति दिँदै सोही हतियारले भरत गुरुङको हत्या गरेको स्वीकार गरेका थिए । सैनिक विशेष अदालतले ढकाललाई हतियार चोरीका साथै कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुने फैसला सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?