सुदूरपश्चिम प्रदेशभरी खोप लगाउने अभियान सुरु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरीका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।

प्रदेशका सबै नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले सबैलाई खोप लगाउने भएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुक्रबार बसेको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले हरेक नागरिकलाई खोप लगाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता पूर्णा जोशीले बताइन् ।

‘प्रदेश सरकारले खोप खरिद गर्न मिल्दैन’, उनले भनिन्, ‘हामीले संघीय सरकारलाई खोप उपलब्ध गराइ दिन भनी अनुरोध गर्ने हो ।’ उनले प्रदेशमा सबै नागरिकलाई खोप लगाउनका लागि थप पाँच लाख डोज उपलब्ध गराइ दिन भनी अनुरोध गर्ने निर्णय गरेको बताइन् ।

प्रदेशका नौवटै जिल्ला गरी हालसम्म पहिलो मात्रा लगाउनेको संख्या ६ लाख १ हजार पाँच सय १८ जना रहेका छन । छ लाख जनसंख्यालाई दोस्रो मात्रासहित थप पाँच लाख डोज संघीय सरकारले उपलब्ध गराएमा १३ लाख बढी जनसंख्यालाई खोप लगाइने उनले बताइन् ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका एक लाख ९५ हजार ३६१ व्यक्ति रहेका छन्। स्वास्थ्य निर्देशनालय दीपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कञ्चनपुरमा एक लाख सात हजार एक सय ६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार नौ सय ४८, बझाङमा ४६ हजार सात सय २४, डोटीमा ४५ हजार चार सय २३, दार्चुलामा ३८ हजार छ सय ५५, डडेल्धुरामा ३० हजार ९९३ र बाजुरामा २४ हजार एक सय ८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् ।

यसैबीच प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या भने चार लाख रहेको छ । मन्त्रालयको तथ्यांकअनुसार चार लाख एक हजार ३३ ले पूर्ण खोप लगाएका हुन् । नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् ।

कैलालीका एक लाख ५५ हजार ५१० ले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार २१३ ले पूर्ण खोप लगाएका छन् । यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार पाँच सय २६, डोटीमा ३१ हजार तीन सय ८९, अछाममा ३० हजार छ सय ७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार चार सय ४८ र डडेल्धुराका १२ हजार १६२ ले पूर्ण खोप पाएका छन् ।

यस्तै समितिको बैठकले प्रदेशको भारतसंग जोडिएका सीमा नाकामा आवतजावत थप व्यवस्थापन गर्ने निर्णय गरेको हो । भारतबाट आउने मानिसको अनिवार्य परीक्षण गराउने र कोरोना संक्रमण भएका व्यक्तिहरुलाई नाकाबाटै आइसोलेसनमा लग्ने गरि व्यवस्थित गरिने मन्त्री जोशीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?