साता सेयर बजार : १६७.१२ अंकले घट्यो नेप्से परिसूचक, करेक्सन आएको हो त ?

लोकपथ
312
Shares

काठमाडौं । यस साता सेयर बजारमा करेक्सन आएको छ ।

यस साताको पाँच कारोबार दिनमध्ये ४ दिन मात्र बजार खुलेको थियो । एक दिन सार्वजनिक बिदा परेको कारण यस साता ४ दिन मात्र कारोबार भएको हो । ४ कारोबार दिनमा बजारले एक दिन मात्र उकालो यात्रा तय गरेको छ । बाँकी ३ दिन बजारमा भारी गिरावट देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै कुनै पनि एक व्यक्ति वा संस्थाले कुनै एउटा वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जामात्र लिनसक्ने व्यवस्था गरेको थियो। सो पश्चात् सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा प्रत्यक्ष दवाव सिर्जना भई धेरै दिनदेखि सेयर बजारमा निरन्तर रूपमा गिरावट आएको हो ।

नेप्से परिसूचकमा भारी गिरावट

यस साता सेयर कारोबार मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । साताभर नेप्से परिसूचक १६७.१२ अंकले घटेर २९२६.८९ विन्दुमा पुगी रोकिएको छ । अघिल्लो साता नेप्से परिसूचक ३०९४।०१ विन्दुमा पुगेर रोकिएको थियो ।

पहिलो कारोबार दिन नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा पुगेको थियो । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । जसकारण सेयर बजार पनि बन्द रहेको थियो । त्यसैगरी, मंगलबार पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेको थियो । मंगले नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा पुगेको थियो। बुधबार भने सेयर बजारमा सामान्य वृद्धि देखिएको थियो । बुधबार नेप्से १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको थियो । तर अन्तिम दिन बिहिबार ५०.१३ अंकले घटेर २९२६.८९ बिन्दुमा पुगेर यस सातालाई बिदाई गरेको छ ।

कारोबार रकम पनि घट्यो

यस साता कारोबार रकम पनि ९ अर्बमा खुम्चिएको छ। गत साता १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको बजारमा यस साता ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँमा सिमित भएको छ । यो साता कारोबार रकममा ३ अर्ब ९१ करोड ६० लाख ३ हजार ९ सय ७० रुपैयाँको गिरावट आएको हो ।

यो साता कुल बजार पूँजीकरण गत साताभन्दा २ खर्ब ३३ अर्ब ४१ करोड रुपैयाँको गिरावट आएको छ । गत साता ४३ खर्ब २३ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता ४० खर्ब ८९ अर्ब ५८ करोड रुपैयाँ कायम भएको हो ।

अब बजार कता जाला ?

घट्ने र बढ्ने बजारको नियम है हो । बजारलाई बढ्ने र घट्ने भन्ने कुरा लगानीकर्ताको मनोबलमा भरपर्छ लगानीकर्ताले आफ्नो मनोबल उच्च बनाउने हो भने बजारले गति लिन्छ । लगानीकर्ताहरुले बजारमा करेक्सन आएको भन्दै आत्तिएका छन् भने कतिपय लगानीकर्ताहरु पर्खा र हेरको अवस्थामा रहेका छन् ।

लगानीकर्ताहरुको कौतुहलता मेट्नका लागि हामीले नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई बजारमा करेक्सन आएकै हो त भनि प्रश्न गर्दा नेपाल राष्ट्र बैंकले जारी गरेको माैद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले गर्दा नै बजार घटेको बताइन् । राष्ट्र बैंकले जारी गरेको सेयर धितो कर्जाका कारण नै बजार घटेको उनले बताइन् । राष्ट्र बैंकले ठूला लगानीकर्तालाई समाउने काम गरेकोले नै बजार घटेको उनको तर्क छ । यो विषयमा अर्थमन्त्रालयसँग कुरा भइरहेको पनि उनले बताइन् । नियामक निकायले सो विषयलाई सच्याउने हो भने बजार पहिलेकै अवस्थामा फर्कने उनी बताउँछिन् । उनले भनिन्, लगानीकर्ताले आत्तिनुपर्ने अवस्था छैन्, बजारले पुन गति लिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?