एकता अभियानहरुबाट ‘फेल’ भएपछि वामदेवको नजर संघीयता परिमार्जनतिर !

लोकपथ
611
Shares

काठमाडौं । तत्कालिन नेकपा विभाजन गर्ने फागुन २१ गतेको सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता अभियान चलाइरहेका वामदेव गौतम यतिबेला कता खुल्ने दोधारमा देखिएका छन् ।

एमाले उपाध्यक्ष गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृतिका कारण पार्टीमा नहरने बताएका छन् । तर यता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि २ सर्त तेस्याएका छन् । त्यो हो मदन भण्डारीले प्रतिपादन गरेको ‘बहुदलीय जनवाद’ र मार्क्सवाद–लेनिनवाद ।

एकीकृत समाजवादीले ‘बहुदलीय जनवाद’ नमान्ने बताएसँगै वामदेव यतिबेला ‘बहुदलीय जनवाद’सँगै दुई सर्तमा एकीकृत समाजवादीसँग सर्त राखेर छलफललाई तीव्रता दिइरहेका छन् । यसअघि पनि वामदेवले एकीकृत समाजवादीमा उपाध्यक्षको पद दाबी गरेका थिए । सोही बिहीबार नेता गौतमले एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा सो विषयमा समेत छलफल भएको थियो ।

त्यस लगत्तै शुक्रबार गौतमको सचिवालयले समेत दुई बाहेक वामदेवसँग अन्य कुनै सर्त नरहेको स्पष्ट पाएको छ ।
गौतमका स्वकीय सचिव दिपक टमटाले सामाजिक सञ्जालमा लेख्दै ‘बहुदलीय जनवाद’ र मार्क्सवाद–लेलिनवाद बाहेक अन्य सर्त नरहेको बताएका छन् ।

उनले भनेका छन्– ‘क.माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त क.वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।’

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचन हारेका वामदेव गौतमलाई राष्ट्रिय सभाको निर्वाचन गराएर निर्वाचित गरिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग राखेर लामो समय चर्चामा रहेका वामदेवको अन्ततः राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने सपना पुरा हुन सकेन ।

नेकपा विभाजन भएपछि बृहत वाम एकता गर्न ओली र प्रचण्ड–नेपाल दुवै पक्षमा नखुलेका वामदेवले न एकता गर्न सके न आफू सुरक्षित रहन सके । यता तत्कालिन नेकपा विभाजित भइ एमाले र माओवादीमा आफ्ना क्रियाकलाप हुन थालेपछि पार्टीभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ठूलो द्वन्द चर्किरह्यो ।

नेपालले नयाँ पार्टी खोल्ने चर्चा चलिरहँदा वामदेव भने अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा समेत उपस्थित रहेका थिए । बैठकमा ओलीसँगै गौतमले एमाले एकता अभियानको जिम्मा दिन समेत आग्रह गरेका थिए ।

एकता अभियानमा असफल जस्तो देखिएपछि अहिले वामदेव संघीयता परिमार्जनको मुद्दा लिएर छलफलमा जुटेका छन् । संघीयता परिमार्जनको मुद्दा पनि सकिपछि वामदेव अभियान के हुन्छ ? त्यो हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?