नेप्सेमा ङादी ग्रुप र अपी पावरको सेयरमूल्य समायोजन

लोकपथ
117
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ङादी ग्रुप पावर र अपी पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । समायोजनपछि ङादी पावरको सेयरमूल्य प्रतिकित्ता ८०७ रुपैयाँ ५ पैसा र अपी पावरको ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ।

नेप्सेले दुवै कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार सेयरमूल्य समायोजन गरेको हो । बिहीबार ङादी पावरको अन्तिम कारोबार ९ सय ६९ रुपैयाँ र ५ सय २९ रुपैयाँमा भएको थियो । अब आइतबारबाट समायोजित मूल्यअनुसार नै दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ ।

ङादी ग्रुपले गत आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

कम्पनीले उक्त लाभांश आगामी असोज ३ गते हुने आठौँ वार्षिक साधारणसभाबाट पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनका लागि आज (शुक्रबार) बुक क्लोज गरेको छ। त्यसैले हिजो (भदौ १८ गते, बिहिबार) सम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।

कम्पनीको सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँबराबरको १:२ प्रतिशत अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, अपी पावर कम्पनीले पनि लाभांश र वार्षिक साधारणसभा प्रयोजनको लागि आज (शुक्रबार)देखि भदौ २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले हिजो (भदौ १८ गते, बिहिबार) सम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। उक्त लाभांश संस्थाको भदौ २५ गते हुने अठारौं वार्षिक साधारणसभाले पारित गर्नेछ ।

सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १:०.३९३६ प्रतिशत अनुपातमा हुन आउने हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?