सुदूरपश्चिममा ६ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

RSS
78
Shares

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या ६ लाख १ हजार ५ सय १८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका एक लाख ९५ हजार ३६१ व्यक्ति रहेका मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए। यस्तै कञ्चनपुरमा १ लाख सात हजार १६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार ९४८, बझाङमा ४६ हजार ७२४, डोटीमा ४५ हजार ४२३, दार्चुलामा ३८ हजार ६५५, डडेल्धुरामा ३० हजार ९९३ र बाजुरामा २४ हजार १८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् ।

यसैबीच प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या भने चार लाख रहेको छ । मन्त्रालयको तथ्यांकअनुसार चार लाख एक हजार ३३ ले पूर्ण खोप लगाएका हुन् । नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् । कैलालीका एक लाख ५५ हजार ५१० ले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार २१३ ले पूर्ण खोप लगाएका छन् ।

यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५२६, डोटीमा ३१ हजार ३८९, अछाममा ३० हजार ६७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ र डडेल्धुराका १२ हजार १६२ ले पूर्ण खोप पाएका छन् । डडेलधुराका नागरिकलाई कोभिशिल्ड, स्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?