काठमाडौं । नेपालले भारतविरुद्ध पहिलो खेलमा १-१ गोलको बराबरी नतिजा निकाल्दा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली जनतासँग माफी मागेका छन्।
बिहीवार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा लिएको अग्रता जोगाउन असफल रहेको थियो। पहिलो हाफमा अन्जन विष्टको गोलमार्फत अग्रता लिएको नेपालले दोस्रो हाफको ६०औं मिनेटमा गोल खाएको थियो।
घरेलु मैदानमा ५१ सय घरेलु दर्शकबीच शानदार प्रदर्शन गरेको नेपालले खेलमा उत्कृष्ट मौकाहरु सिर्जना गरेपनि निर्णायक गोल भने गर्न सकेको थिएन। फिफा वरियतामा आफू भन्दा निकै माथि रहेको भारतीय टोलीविरुद्ध जित निकाल्न नसक्दा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दुःखी भएका छन्।
“मैले नेपाली जनतालाई खुशी पार्न सकिन, माफी माग्न चाहन्छु, आशा छ मेरो माफी स्विकारिदिनु हुन्छ”, प्रशिक्षक अल्मुताइरीले पोस्ट म्याच कन्फरेन्समा भने। “हामीले यो भन्दा अझै राम्रो खेल्नु पर्ने हुन्छ, यदि साफ च्याम्पियनसिप जित्ने हो भने हामीलाई आजको स्तरको प्रदर्शनले पुग्दैन, गल्तीहरू सुधार्दै जानु पर्दछ”, उनले थपे।
युवा खेलाडी आयुष घलानलाई राष्ट्रिय टोलीबाट पहिलो सुरुवात प्रदान गरेका अल्मुताइरीले उमेर मात्र अंक रहेको बताए। “युवा खेलाडीले राम्रो खेलेका हुन्, यदि उनीहरूले राम्रो प्रदर्शन गरेनन् भने गल्ती उनीहरूको होईन, मेरो हुनेछ”, अल्मुताइरीले बताए।
उनले नेपाली मिडफिल्डरहरुले शानदार प्रदर्शन गरेको पनि बताए। “तेज बक्स टू बक्स खेल्छन्, पुजन डिफेन्स हेर्छन् र सुमन एट्याकिङ खेलाडी हुन्, हुन त यो मैत्रीपूर्ण खेल हो, तर हामी जित्न चाहन्थ्यौं” अल्मुताइरीले भावुक हुँदै भने।
‘भारतले दोस्रो हाफको सुरुवाती १० मिनेट राम्रो फुटबल खेल्यो, अनिरुद्ध थापाको प्रदर्शन प्रशंसनीय थियो, तर हामीले खेलमा पुनः नियन्त्रण लिन सफल भएका थियौं, समग्रमा राम्रो फुटबल खेलेपनि जित भने निकाल्न सकेनौँ, त्यसको लागि माफी माग्न चाहन्छु”, अल्मुताइरीका शब्द थिए।
फिफा वरियतामा १६८औं स्थानमा रहेको नेपालले बलियो टोली भारतविरुद्ध शानदार प्रदर्शन गरेको थियो। राष्ट्रिय टोलीका लागि आफ्नो डेब्यू गरेका मिडफिल्डर नितिन थापाले दोस्रो हाफको अतिरिक्त समयमा राम्रो मौकामा गोल गर्न चुकेका थिए। लेफ्ट ब्याक सुमन अर्यालको क्रसमा नितिनले प्रहार गरेको हेडर पोस्ट बाहिर गएको थियो।
नेपाल र भारतबीचकाे दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ५, आईतवार खेलिने छ। सो खेल पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया