काठमाडौं । नेपाल पहिलो मैत्रीपूर्ण फुटबल खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याएका थिए।
भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा थापाले गोललाइनबाट पोस्टको जाली चुमाएका थिए । अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।
१३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी खेलको रूपमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल मैत्रीपूर्ण भनिए पनि यी दुई छिमेकी राष्ट्रबीचको खेल जहिले पनि ‘हाई इन्टेन्सिटी’को रहने गरेको छ ।
नेपाल र भारतले अहिलेसम्म आधिकारिक रूपमा १९ खेल खेलेका छन्। जसमध्ये भारतले १३ खेल जित्दा नेपालले मात्र दुई खेल जित्न सफल भएको छ। साफ च्याम्पियनसिपकै इतिहास हेर्ने हो भने पनि १२ वटा प्रतियोगितामा भारतले ७ पटक उपाधि आफ्नो कब्जामा पार्न सफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया