हराएका बुवाको ३३ वर्षपछि परिवारसँग पुनर्मिलन

कैलाली । वर्षौदेखि हराइरहेका बुवाको ३३ वर्षपछि परिवारससँग पुनर्मिलन भएको छ । जानकी गाउँपालिका–७ टिकलीगढका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्षअघि भारत रोजगारीका लागि गएका थिए । रोजगारीमा गएपछि उनी कहिल्यै स्वदेश फर्केनन ।

३३ वर्षदेखि बेपत्ता उनको प्रहरीले उद्दार गरी पारिवारिक पुनर्मिलन गराएको हो । यही भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट थारु भारतको विहारमा फेला परेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले बताए ।

थारुले ठेगाना कैलाली रहेको भनेपछि प्रहरीले उद्दारका लागि पहल गरेको थियो । ‘भारतीय पक्षसंग समन्वय गरी उद्दार गर्न जानकारी गराए बमोजिम निजलाई फेला पार्ने भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादव मार्फत थारुसँग सम्पर्क स्थापित भयो’ प्रहरी प्रमुख अधिकारीले भने । उनले थारु सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहेको जानकारी दिए ।

प्रहरीलाई उनको घर कैलाली रहेको जानकारी आएपछि कुन स्थानीय तहको हो भन्ने पत्ता लगाउन समस्या थियो । प्रहरी प्रमुख अधिकारीले भने, ‘कुराकानी गर्दा निजले आफ्नो घर टिकापुरको मुनुवा आसपास हो भन्ने बताएपछि निजको फोटो सहित उक्त गाउँघरमा घर तथा आफन्तजन पत्ता लगाउन इलाका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरिएको थियो ।’

प्रहरी कार्यालयले निजको घर ठेगाना र आफन्तको एकिन गरेपछि भारतीय प्रहरी र संदिप यादवको सहयोगमा थारुलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा हस्तान्तरण गरिएको थियो ।

उनले भने, ‘जिप्रका पर्सामा निजका छोरा तथा प्रहरीलाई पठाई निजलाई यस जिप्रकामा ल्याई निजका छोरा वर्ष ३८ का राम बहादुर डगौरालाई हस्तान्तरण गरी पारिवारिक पुनर्मिलन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?