२० वर्षदेखि हेलिकोप्टर मागेको माग्यै नेपाल प्रहरी, नियमित गस्तीमा समेत कठिनाइ

काठमाडौं । देशमा जस्तोसुकै संकट पर्दा हेर्ने निकाय हो, नेपाल प्रहरी । प्राकृतिक प्रकोपका बेला होस् वा अन्य कुनै समस्या पर्दा प्रहरीले उद्दार गर्ने गरेको छ ।

नेपाल प्रहरीमा हाल ७० हजार बढी प्रहरी रहेका छन् । तर नेपाल प्रहरीसँग आफ्नै हेलिकोप्टर छैन । हेलिकोप्टर नभएकै कारण उद्दार कार्यमा ढिला हुने गरेको खबर बेला बेलाआईरहन्छ । त्यसो त नेपाल प्रहरीले गृह मन्त्रालयसँग हेलिकोप्टरको माग नगरेको भने होइन ।

विभिन्न समयमा हुने झडप, विष्फोटका घटना, दोहोरो भिडन्तमा परी घाइतेहरुको समयमै उपचारका लागि ल्याउन हेलिकोप्टर नहुँदा निकै समस्या हुने गरेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

नेपालको कतिपय सीमा क्षेत्रमा भौगोलिक विकटताका कारण नियमित गस्तीमा समेत कठिनाई हुने गरेको छ ।

के भन्छ, प्रहरी प्रशासन ?

तत्काल उद्दार र विशेष प्रकृतिको अपरेशनमा हेलिकोप्टरको आवश्यकता पर्दछ । नेपाल प्रहरीले दुई दशकदेखि हेलिकोप्टरको माग गरिरहे पनि हालसम्म पाउन सकेको छैन । तत्कालीन विद्रोही माओवादीले सशस्त्र संघर्ष चलाइरहेका बेला तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले सरकारसमक्ष पहिलो पटक औपचारिक रुपमा हेलिकोप्टर मागेका थिए ।

तर हेलिकोप्टर माग गरेको दुई दशक बितिसक्दा पनि नेपाल प्रहरीले हेलिकोप्टर पाउन नसकेको नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले जानकारी दिए ।

“हेलिकोप्टर नभएका कारण प्राकृतिक प्रकोपका बेला तत्काल उद्दार गर्नबाट चुकेका छौं ” प्रवक्ता कुँवरले भने । नेपालमा सबैभन्दा बढी कार्यालय भएको र हरेक घटनामा सबैभन्दा पहिले प्रहरी नै पुग्ने भएपछि प्रहरी संगठनका लागि हेलिकोप्टर आवश्यक रहेको उनले बताए ।

सशस्त्र प्रहरीको पनि हालत उस्तै :

संकट पर्दा होस् वा जस्तोसुकै उद्दार सशस्त्र प्रहरी अग्रपङ्क्तिमा खटिने गरेको छ । विशेषगरी सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको बढी निगरानी र सिमावर्ती क्षेत्रमा खटिने गरेका छन् ।

उत्तरी सीमामा बोर्डर आउट पोष्ट (बीओपी) विस्तार गर्दै गएको सशस्त्र प्रहरी बललाई कार्यसंचालन गर्न हेलिकोप्टर आवश्यकता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालले लोकपथलाई बताए ।

“सीमा क्षेत्रमा, इमर्जेन्सीमा वा प्राकृतिक प्रकोपका बेला हामीलाई हेलिकोप्टरको आवश्यकता हुन्छ । सशस्त्र प्रहरी बलले धेरै वर्ष अगाडीबाटै हेलिकोप्टरको माग गरेको हो ” उनले बताए ।

सिन्धुपाल्चोकको बाढी पहीरोलाई स्मरण गर्दै प्रवक्ता अर्यालले भने -“सिन्धुपाल्चोकमा बाढी गयो पुल बगायो कसरी जाने ? हेलिकोप्टरबाट उद्दार गर्न धेरै सहज हुन्छ । प्राइभेट हेलिकोप्टरहरुको प्रयोग गर्नु परिरहेको छ ”

नेपाली सेनालाई ९ वटा हेलिकोप्टर, प्रहरी रित्तै

नेपाली सेनाको स्रोतका अनुसार सेनासँग हाल ९ वटा हेलिकोप्टर छन् । साना,मझौला र ठूला गरेर सेनासँग हाल ९ वटा चालू अवस्थामा हेलिकोप्टर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?