अभिलेखालय सार्दा बहुमूल्य हस्तलिखित ग्रन्थ जोगाउन नसकिने

– पूर्णप्रसाद मिश्रकाठमाडौँ, २३ असोज ।सिंहदरबार परिसरबाट राष्ट्रिय अभिलेखालय सार्ने निर्णय भएपछि ५० हजार हस्तलिखित बहुमूल्य ग्रन्थ जोगाउन नसकिने भएको छ ।मन्त्रिपरिषद्को २०७१ वैशाख २५ गतेको बैठकले अभिलेखालयले चर्चेको १३ रोपनी जग्गा सर्वोच्च अदालतलाई दिने निर्णय गरेको थियो । अभिलेखालयलाई नारायणहिटीमा जग्गा दिने निर्णय गरिए पनि मन्त्रिपरिषद्को २०७१ साउन २२ गतेको बैठकले अन्यत्रै दिने निर्णय गरे पनि ठाउँ तोकेको छैन ।मन्त्रिपरिषद्को निर्णयअनुसार अभिलेखालय सार्नुपरे हस्तलिखित बहुमूल्य हजारौँ सामग्री नाश हुने अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्ग बताउछन । पुरातात्विक महत्वका बहुमूल्य सामग्री संरक्षणकै लागि भारत सरकारको सहयोगमा अभिलेखालयको यो भवन निर्माण भएको हो ।अभिलेखालयको मूल भवन पछाडिको माइक्रोफिल्म भवन जर्मन सरकारको सहयोगमा बनेको हो । “दाता राष्ट्रले पुरातात्विक सामग्रीको महत्व बुझेर संरक्षणका लागि सहयोग गरेकामा नेपाल सरकारले यसको मूल्य विचार नगरी बहुमूल्य सामग्री नष्ट हुन दिनुहुन्न”, उनले भने ।सिंहदरबारमा सुरक्षाको दृष्टि र सबैलाई पायक पर्ने कारणले उचित स्थानमा अभिलेखालय रहेकाले हटाउन नहुने प्रमुख प्रधानाङ्गको माग छ । दुवै भवन भूकम्प प्रतिरोधी भएकाले २०७२ वैशाख १२ गतेको भूकम्पले समेत कुनै क्षति पुगेन ।बहुमूल्य सामग्री संरक्षणका लागि वातानुकूलित कोठामा यन्त्र जडान गरिएकाले कार्यालय सार्दा खर्चका साथै जग्गा पनि बढी लाग्छ । यसैगरी कार्यालयमा खर्च जुटाएर सुरक्षा घण्टीसमेत राखिएको छ ।विसं २०२४ असोज १७ गते वीर पुस्तकालयमा सुरक्षित हस्तलिखित बहुमूल्य पुस्तक संरक्षण गर्ने उद्देश्यले अभिलेखालयको स्थापना भएको थियो ।अभिलेखालयमा १३औँ शताब्दीको ‘कारण्य वियोग’, ‘स्कन्द पुराण’, ‘सत्धर्म कुण्डलिका’, जयस्थिति मल्लको पालाको ‘न्यायविकासिनी’, लालमोहर, सन्धिपत्र, इस्तिहार, चिठी जस्ता बहुमूल्य सामग्री राखिएको अभिलेख अधिकृत मनिता न्यौपानेले बताइन ।हस्तलिखित ग्रन्थ संस्कृत, नेवारी, मैथिली, हिन्दी, तिब्बतीयन र केही बंगाली भाषाका पनि सक्कली छन् । अभिलेखालयमा दुई लाख ग्रन्थको माइक्रोफिल्म गरेर राखिएको छ ।अभिलेखालयमा संग्रह गरिएको नवौँ शताब्दीको शैव धर्मको हस्तलिखित ग्रन्थ ‘निश्वासतत्व संहिता’ मेमोरी अफ वल्र्ड हेरिटेजमा सूचीकृत एक मात्र ग्रन्थ हो ।अभिलेखालयले स्थापनाको स्वर्ण महोत्सव मंगलबार मनाउने कार्यक्रम राखेको छ । स्वर्ण महोत्सव समारोहको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।अभिलेखालयले विसं २०७२ देखि राष्ट्रिय अभिलेखालय दिवस मनाउन शुरु गरेको छ । असोज १७ गते मनाउने गरिएको यो दिवस यस वर्ष विजयादशमीको भोलिपल्ट परेकाले कुनै औपचारिक कार्यक्रम हुन सकेन । दिवसको कार्यक्रम पनि मंगलबार स्वर्ण महोत्सवका अवसरमा गरिने अभिलेखालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?