झोँछेले पर्यटकको भीड धान्न नसकेपछि विस्तारित ठमेल बजार अहिले कोरोना कहरले गर्दा सुनसान छ । करिव डेढ वर्षअघि सम्म ठमेल दिनरात उत्तिकै ब्यस्त बजार थियो । ठमेल पुग्दा विदेशीभूमिमा पुगे झैं लाग्थ्यो ।
विशेषतः काठमाडौं गेष्ट हाउसको संचालनपछि ठमेलमा पर्यटकहरुको आवागमन बढेको व्यवसायीहरु बताउँछन् । विगत ३२ वर्षदेखि ठमेलमा पर्यटन व्यवसाय संचालन गर्दै आएका तेजेन्द्रनाथ श्रेष्ठ ठमेल बजार योजनाबिना आफैं बनेको बताउँछन् ।
ठमेल बजारको विकास मात्रै भएको छैन विस्तार समेत भएको छ । पहिले पर्यटनमार्ग आसपासका ठाउँलाई मात्रै ठमेल भनिन्यो तर अचेल आसपासका ठाउँहरुलाई समेत ठमेल नै भनेर चिनिन थालेका छन् । एक वर्षभित्र ५ किमी सडक बनेका छन् । ०४६- ४७ पछि ठमेलले विकासको फड्को मारेको हो । ३५ वर्षअघि २ वटा नाकामा सिमित ठमेलबजार पुग्न अहिले ९ वटा नाका बनेका छन् ।

कोरोनाले ब्रेक
२० वर्षअघि ठमेलमा पहिलोपटक स्पा व्यवसाय भित्र्याएर भविश्वर शर्मा विकासको क्रममा रहेको ठमेलमा कोरोना महामारीले ब्रेक लागेको बताउँछन् । पहिलो लकडाउनमा ठप्प रहेको ठमेल त्यसपछि करिव ४० प्रतिशत लयमा आउँन थाल्दा पुनः निषेधाज्ञाको मारमा परेको उनी बताउँछन् । कारमा हिड्ने व्यवसायीहरु पैदल हिड्नुपर्ने बेला बैंकहरुको ताकेताले व्यवसायीलाई मानसिक तनाव हुने गरेको उनको भनाइ छ ।
भाडा समायोजन समितिका संयोजक समेत रहेका शर्माले ठमेलका घरधनीहरुले २० देखि ७० प्रतिशत छुट दिँदा समेत भाडा तिर्न धौ धौ भएको बताउँछन् ।
१० हजार भन्दा बढी व्यवसायी रहेको ठमेलमा २ हजार २ सय भन्दा बढी घरधनी रहेका छन् । कोरोनाको महामारीले गर्दा ठमेलका करिव एक हजार व्यवसायी अन्यत्र सरेका छन् । यस्तै ठमेलमा कार्यारत झण्डै ९० हजार कामदार कर्मचारी विस्थापित भएका छन् ।
कुनैबेला दैनिक २० करोडभन्दा बढीको कारोवार हुने ठमेलमा अहिले दैनिक २ करोड पनि कारोबार हुँदैन । कुनै बेला ब्यापार गर्न भ्याइनभ्याइ हुने व्यवसायीहरु अहिले लुडो खेलेर दिन कटाइरहेका छन् ।

नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष दिनेश श्रेष्ठ सरकारले विना अध्ययन मनपरी ढंगले निषेधाज्ञा लम्ब्याउँदा व्यवसायीहरु मारमा परेको बताउँछन्। रात्रिकालिन व्यवसाय शुरुमै बन्द गर्ने र सबैभन्दा अन्तिममा खोल्ने नीतिले व्यवसायीहरु आत्महत्या गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ पनि आसपासका सबै बजार ठेलमठेल भीड हुँदा पनि ठमेलमा सुनसान छाएको बताउँछन् । यसले व्यवसायीलाई पलायन हुन बाध्य पारेको श्रेष्ठ बताउँछन् ।
ठमेल बजार सर्छ कि अघि बढ्छ ?
एकातिर कोरोना भाइरसको बढ्दो संक्रमण र अर्कोतिर यहाँको महंगो भाडा । यसकारण झोँछेको विकल्पको रुपमा उदाएको ठमेल बजार कोरोनाका कारण सुक्लान् कि भन्ने आशंका बढ्दो छ। तर यहाँका व्यवसायीहरु भने ठमेलको विकल्प अरु ठाउँ बन्न नसक्ने बताउँछन् ।

ठमेल बजारको अस्तित्व कायम राख्न व्यवसायी, कामदार र घरधनीका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्ने बताउँछन्, ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा। ठमेललाई पहिलेकै अवस्थामा फर्काउन यहाँका व्यवसायी र घरधनीबीच सद्भावपूर्ण सम्बन्धको खाँचो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया