न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजारभन्दा बढीको आवेदन

लोकपथ
1.3k
Shares

काठमाडौं । यस जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजार बढीको आवेदन परेको छ ।

आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते सम्ममा २५ हजार १९१ जनाले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए।
उनका अनुसार यतिका संख्यामा परेको आवदेनबाट ६१ करोड १३ लाख ३ हजार ८०० रुपैयाँ बराबरको निवेदन रहेको छ । यीमध्ये आयोजना प्रभावित मर्स्याङ्दी गाउँपालिकाका स्थानीयवासीका लागि छुट्याइएको ५ लाख कित्ता सेयरको लागि २ हजार ९५३ आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० रुपैयाँ र जिल्लावासीको लागि तोकिएको १० लाख कित्ता सेयरको लागि २२ हजार २३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार ७०० रुपैयाँ बराबरको आवेदक माग रहेको आयोजनाले बताएको छ ।

आयोजना अनुसार यी आवदेकको आधारमा ६१ लाख ६३० कित्ता माग भएको छ । यीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको १६ लाख ३७ हजार १८१ कित्ता र जिल्लावासीको ४४ लाख ७५ हजार ८५७ कित्ता रहेको छ ।

जिल्लावासीको लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि ५ लाख र संस्थापक सेयरधनीका लागि ३ लाख कित्ता सेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । आयोजना प्रमुख अमात्यका अनुसार अब अन्य सर्वसाधारणका लागि ७ देखि १० दिनभित्रमा सेयर खुला हुने छ ।

विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । विविध कारणले निर्माणमा ढिलाइ हुँदा समयमा काम सम्पन्न नभए पनि हाल आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए। सो आयोजना ६ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने बताइएको छ ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच ओटा बैंकले ७५ प्रतिशत अर्थात् साँढे ४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ ।

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ दशमलव ८० र सुख्खायामका लागि ८ दशमलव ४० मा विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ । मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?