नेकपा(एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरुको आज सनाखत हुने

लोकपथ
156
Shares

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू आज प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् । एमालेबाट छुट्टिएर बनेको एकीकृत एकीकृत समाजवादीमा खुलेका प्रदेश सांसदहरुले निर्वाचन आयोगमा गएर हस्ताक्षर बुझाउन लागेका हुन् ।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ । त्यहीँअनुसार २२ भदौसम्म एमाले वा समाजवादीमध्ये एक दल छानिसक्नुपर्ने छ ।

प्रदेश १ मा हालसम्म १० जना सांसद समाजवादीतिर खुलेका छन् । प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङले आज सनाखत गर्ने तयारी छ ।

आज निर्वाचन आयोगमा जाँदासम्म १२ देखि १३ जना सांसद पुग्ने नेकपा (एस)तिर खुलेका प्रदेश सांसद राजन राईले दाबी गरे । उनले भने, ‘१० जना त चट्टान नै फुटे पनि कतै जानुहुन्न । अझै तीन जना माननीय हामीसँग आँउदै हुनुन्छ ।’

यता एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले भने समाजवादीमा ४ जना भन्दा बढी सांसद नहुने दाबी गरे । ‘अरुदिन ५० जना नै छन् भन्दा पनि हुन्छ । तर निर्वाचन आयोगमा पुग्दा ४ जना मात्रै हुनुहुन्छ ।’

राजेन्द्र राई, गणेश काङवाङ, कृष्णकुमारी राई र राजन राई बाहेकका केन्द्रीय सदस्यहरुलाई एमालेमै रहनेगरी मनाउने भण्डारीको दाबी छ ।

निर्वाचन आयोगमा आज हुने सनाखतको संख्याले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्ताको भविष्य पनि निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?