अपाङ्गता आन्दोलन अधिकार प्राप्तिको युगमा प्रवेश गरेको छ – उपाध्यक्ष दहाल

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले नेपालको अपाङ्गता आन्दोलन अन्धविश्वासलाई चिरेर अधिकारको युगमा प्रवेश गरेको बताएकी छन् ।

राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा मंगलबार ९आज० काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष दहालले यस्तो बताएकी हुन् ।

दहालले भनिन्, ‘कुनै समय थियो, कुनै परिवारमा अपाङ्गता भएका व्यक्ति जन्मियो भने उसका बा आमाले गरेको पापको नतिजाको रुपमा व्याख्या गरिन्थ्यो। त्यो परिवारलाई नै हेलाको दृष्टिले हेरिन्थ्यो । तर, अहिले समय त्यस्तो छैन । अहिले हामी अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा बहस गरिरहेका छौं ।’

उपाध्यक्ष दहालले अन्धविश्वासको त्यो समयदेखि आजसम्म अपाङ्गता अधिकारका लागि निरन्तर खटिएका अधिकारकर्मीहरूलाई धन्यवाद दिंदै यो सफलताका लागि बधाई समेत दिइन् । उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि बनेका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।

अपाङ्गता भएका व्यक्तिहरूको हकहितलाई मध्यनजर गर्दै विभिन्न समयमा थुप्रै राम्रा कानूनहरू निर्माण भएको भन्दै उहाँले बनेका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सके अपाङ्गता भएका व्यक्तिहरूका धेरै समस्या समाधान हुने बताइन् ।
आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष दहालले अपाङ्गमैत्री कानून निर्माण र त्यसको कार्यान्वयनका लागि आफूले सधैं पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।

अपाङ्गता भएका नागरिकका सवाल सबैको साझा सवाल भएको भन्दै उहाँले हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट आवाज उठाउनुपर्नेमा जोड दिइन् । दहालले भनिन्, ‘अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको समस्या, संकुचित भएको उनीहरूको अधिकार र आधारभूत सेवा सुविधा सबैको सवाल हो । अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि संसदले अझै परिष्कृत कानून निर्माण गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

अपाङ्गता भएका व्यक्तिले अझै पनि शारीरिक र मानसिक रुपमा विभिन्न खालका हिंसा सहनुपरेको खबर सुन्दा दुःख लाग्ने भन्दै उनले परिवारबाटै यस्ता व्यक्तिहरूको स्याहार र सम्मानमा विशेष ख्याल गर्न आग्रह गरिन् । महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरूले अन्य व्यक्तिले भन्दा बढी हिंसा र समस्या भोग्नु परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि दहालले महासंघले प्रकाशन गरेको दुईवटा पुस्तक (अपाङ्गता समावेशी स्थानीय विकास सहजीकरण पुस्तिका र क्षमता विकास सम्बन्धी तालिम सहजीकरण पुस्तिका) सार्वजनिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?