काठमाडौं । एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ असार २९ मा मर्यादा पुरुषोत्तम भगवान् राम चितवनको माडी नगरपालिकास्थित ठोरीमा जन्मिएको बताए ।
रामायणको नेपाली अनुवाद गरेका आदिकवि भानुभक्त आचार्यको जन्मोत्सवको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले ठोरी नै वास्तविक अयोध्या भएको दाबी गरे । ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउन पनि भ्याए ।
‘यहाँको जनकपुर भारतको अयोध्या हुन्थ्यो भने कसरी सिताको विवाह रामसँग हुन सक्थ्यो ? त्यस बेलाको जमानामा न टेलिफोन, न मोबाइल ! कताबाट अयोध्याबारे थाहा होस् ? थाहा हुन पनि सम्भव थिएन’, ओलीले भनेका थिए ।
ओलीको यो धार्मिक कार्डलाई सत्ता टिकाइरहन हिन्दुत्वको कुरा गरेको भन्ने आरोप पनि लागेको थियो । ओलीले अयोध्या नेपालमै पर्छ भन्ने कुरो गरिरहँदा तत्कालीन नेकपामा आन्तरिक कलह चर्किएको थियो ।
ओली यतिमा मात्रै रोकिएनन् २३ साउनमा उनले माडी नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्षलाई फोन गरेर अयोध्याबारे चासो राखे । त्यसको भोलिपल्ट माडीका मेयरसहितको जनप्रतिनिधिलाई काठमाडौँ बोलाए । उनले त्यहाँ राममन्दिर निर्माणको काम अघि बढाउन निर्देशन दिए । ओलीको भनाइको त्यतिबेला पार्टीबाटै पनि आलोचना भएको थियो ।
माडीका जनप्रतिनिधिलाई अयोध्या क्षेत्र बनाउन निर्देशन दिएका प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा राम, सीता, हनुमान, लक्ष्मणको मूर्ति निर्माण गर्न लगाए । ती मूर्ति गत वैशाख ७ मा रामनवमीको अघिल्लो दिन पूजाआजा गरेर ओलीले धुमधामका साथ चितवन पठाए । ८ गते रामनवमीका दिन ती मूर्ति ठोरीमा स्थापना गरियो ।

यसअघि ओली २०७७ माघ १२ मा पशुपतिनाथको मन्दिरमा पूजा गर्न पुगेका थिए । उनले पशुपतिनाथमा संकल्प गर्ने क्रममा त्यहाँ सुनको जलहरि बनाउन ३० करोड सरकारले दिने प्रतिबद्वता जनाए । कोरोनाको भ्याक्सिन नभएका बेला अनावश्यक चिजमा बजेट दिएको भन्दै ओलीको आलोचना पनि भयो ।

५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि आलोचना खेपेका ओलीले साहनाभूति बटुल्न जलहरि राजनीति गरेको भन्दै आलोचना भयो । गत फागुन २३ मा सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउने फैसला ग¥यो । एमालेको आन्तरिक कलहका कारण यही भदौ ८ मा एमाले विभाजित भयो ।
हिन्दुत्वको मुद्दा चर्किने सम्भावना
ओली आफूले नेतृत्व गरेको दुई तिहाइको सरकार ढलेर प्रतिपक्षमा बस्न मात्रै पुगेनन् एमाले विभाजित समेत भएको छ । ओलीले पार्टीको १०औं महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेका छन् ।
ओलीले महाधिवेशनका लागि पार्टी सत्तामा रहिरहन हिन्दुत्वको मुद्दा उठाउने बलियो सम्भावना रहेको राजनीतिक विश्लेषक डा. विष्णु दाहालको भनाइ छ । ओलीले आगामी निर्वाचनमा एमालेको सिट संख्या बढाउन र पार्टीमा कब्जा जमाइराख्न धर्मको कार्ड फ्याक्ने र त्यसका लागि एमालेभित्र गृहकार्य भइरहेको बुझाइ दाहालको छ ।
धर्मलाई अफिम मान्ने कम्युनिस्ट र आफूलाई धर्म निरपेक्षताको जगमा उभिएको जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याता भन्ने ओलीले पार्टी फुटेर कमजोर भएको अवस्थामा धर्मलाई अघि सार्ने सम्भावना बलियो छ । त्यसलाई सिंगो एमालेले स्वीकार गर्ला कि नगर्ला त्यो भने आफ्नो ठाउँमा छ ।
तर एमाले कार्यालय सचिव एवं पूर्वमन्त्री शेरबहादुर तामाङ आफ्नो पार्टीले आगामी निर्वाचनमा धर्मलाई एजेण्डा नबनाउने दाबी गर्छन् । तामाङ भन्छन्‘ धर्म भनेको स्वतन्त्र आस्था हो, राजनीतिमा यसलाई मिसाउनु हुन्न, एमाले सबैको आस्थामा सम्मान गर्छ ।’
कांग्रेस पनि हिन्दुत्वको मुद्दामा
राजनीतिक विश्लेषक डा. दाहालका अनुसार २०६२ देखि धर्म निरपेक्षता र संघीयताको कुरा गरेका दलहरूमा जनताका लागि अब नयाँ एजेण्डा छैनन् । सबै दल भरिसक्य संघीयता हटाउन खोज्दै छन् । त्यसकारण प्रत्येक पार्टीमा एउटा समूहले हिन्दुत्वको मुद्दा उठाउँछन् र नेतृत्वले त्यसलाई स्थापित गर्न खोज्नेछ । कांग्रेसमा पनि महामन्त्री डा. शशांक कोइरालाले बेला–बेलामा हिन्दु धर्मको कुरा उठाउने गरेका छन् ।

उपसभापति विमलेन्द्र निधिले त कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा र सम्पर्क कार्यालयको स्थापना गर्दा यही भदौ ११ गते विभिन्न मन्दिरका पुजारी र पण्डितबाट पूजाआजा गराएका थिए ।
प्रधानमन्त्री देउवा त झन् हरेक काम गर्दा ज्योतिष र पण्डितलाई हेराएरै निर्णय लिन्छन् । संविधानमै नेपाल धर्मनिरपेक्ष भइसकेकाले त्यसलाई धर्म सापेक्ष बनाउने र कमल थापा नेतृत्वको राप्रपाले हिन्दु धर्मको नाममा पाएको मत आफ्नो पक्षमा पार्न कांग्रेस र एमाले लागिपरेका कतिपयको बुझाइ छ ।
त्यसो भए के अब कांग्रेस र एमालेजस्ता मूलधारका पार्टीका लागि ‘भगवान्’ नै सहारा हुन् ? यसका संकेतहरू देखिन थालेका छन् ।

आगामी निर्वाचनमा धर्मको मुद्दा अझै मुखरित भएर आउने प्रारम्भिक लक्षणहरू अहिले नै प्रकट हुन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया