माधव-झलनाथको पार्टी बनाउने हुटहुटी : जनताले देखिसके खुट्टी

लोकपथ
6.8k
Shares

निर्मल भट्टराई

जनताको अभिमत नबुझी चल्ने राजनीतिका हिरोहरू जिरो हुन कुनै आइतबार पर्खनु नपर्ने रहेछ । कुनै बेलाका एमाले सुप्रिमो माधव नेपालको जीवनमा यो देखा पर्दै छ । जनताले भरोसा गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) चोइट्याएर एउटा कोटरी पार्टी बनाएको एक हप्ता पनि नबित्तै माधव नेपाल सार्वजनिक समारोहमै भक्कानिन थालेका छन् ।

आफूलाई एमालेको दोस्रो पुस्ताले छोड्यो, धोका दियो भनेर भक्कानिएका माधव नेपालको आगामी यात्रा हाँसोको हुने छैन, केवल रोदनको मात्र हुनेछ । गल्ती महसुस गरेर एमालेमै नफर्किउन्जेल उनको हालत यही हुनेछ । २०३२ सालको जोस सम्झेर दुई÷चार दिन कुर्लन त सकिएला तर जनताले नपत्याएपछि नौनाडी गल्न थालिहाल्छन् । जनताले छोड्न थालेपछि कुनै नेता पानीबाहिर निकालिएको माछाजस्तै बनिहाल्छ ।

माधव नेपालमा अहिले देखापरेको जोस त एक निवृत्त सिपाहीको जस्तो हो । निवृत्त सिपाहीले आफूलाई रिस उठेको मानिसलाई गोलीले उडाउने कुरा गर्छ, तर न ऊसँग बन्दुक हुन्छ, न गोली नै । न उडाउने आँट नै ।

०४६को जनआन्दोलन सफल भएदेखि नै नेकपा (एमाले)को सम्पूर्ण पङ्क्तिले माधव नेपाललाई अग्रपङ्क्तिमा राखेर जयजयकार गर्दै आएको हो । उनले चाहेको पद दिँदै आएको हो । लामो समयको पार्टी नेतृत्व सुम्पियो, प्रधानमन्त्री बनायो ।

यो अवधिमा उनले एमालेका विशाल जनसागरलाई सम्बोधन गरे, विभिन्न निर्देशन जारी गरे, पार्टीको प्रतिनिधित्व गरेर संसार घुमे । त्यो अवधिमा वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत अरू एमाले नेताले खुरुखुरु नेता मानिदिनु पर्‍यो, उनको आदेश मानिदिनु पर्‍यो । तर जब पार्टीको नवौं महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गर्‍यो, तब उनले ओलीको नेतृत्व मान्न अस्वीकार गरे, विद्रोह गरे, आफ्नो पार्टीको सरकार ढाल्न विपक्षीको एजेन्ट बने र अन्त्यमा पार्टी नै चोइट्याएर हिँडे ।

तिनलाई थाहा नभएको होइन, पार्टी विभाजनको हर्कतलाई नेपाली जनताले मन पराउँदैनन् । पार्टी विभाजनको औचित्य पुष्टि उनले कुनै हालतमा गर्न सक्दैनन् । तर उनमा रहेको इगो र कुण्ठाको कारण उनी आज भड्खालोमा परे । ‘म नेता हुँ नेता’ भनेर भ्यागुत्तो फूलेझैं फूल्दाफूल्दै अकल्पनीय ढङ्गले फसे । रिस खा आफू, बुद्धि खा अर्को त्यसै भनिएको होइन सायद ।

यहाँ सानो छँदा पढेको ‘गोनु झा’को कथा स्मरण हुन्छ । कुनै कारणले एक पटक ब्राम्हण गोनु झा इनारमा खस्छन् । उनलाई इनारबाट बाहिर ल्याउन गाउँलेहरू इनारको वरिपरि जम्मा हुन्छन् । गोनु झालाई हात दिन सबैले आग्रह गर्छन् । जति आग्रह गर्दा पनि गोनु झाले हात दिँदैनन् । सबै छक्क पर्छन् । आखिर एकजना गाउँका जेष्ठ नागरिकले समस्या पत्ता लाउँछन् । उनले सुझाए– गोनु झाले दिन जानेकै छैन । लिन मात्र जानेको छ । त्यसकारण तिमीहरू उनलाई हात देओ, अनि उनी तिमीहरूको हात समातेर इनार बाहिर आउँछन् । गाउँलेले त्यसै गरे र गोनु झा इनारबाट बाहिर आए ।

माधव नेपालले जीवनमा दिन जानेकै छैन, लिन मात्र जानेको हो । एमालेका सबैको समर्थनमा बन्नुपर्ने जति सबै बनेका नेपाल आज ओलीलाई समर्थन दिन नजानेर असफलताको गहिरो इनारमा परेका छन् । र छोटो अवधिमै रोइलो गर्न थालेका छन् । प्रधानमन्त्रीको एक कार्यकाल र पार्टी अध्यक्षको एक कार्यकाल माधवले ओलीलाई पूरा गर्न दिएको भए देश र पार्टीको यो हालत हुने थिएन । उनको यो विजोग पनि देख्नुपर्ने थिएन ।

हिजो एमालेका भीमकाय भेला सभालाई सम्बोधन गरेका माधव नेपाल आज एक दुई दर्जन मानिस बटुलेर आँसु मिसाएको भाषण गर्दै छन् । जवानीमा जङ्गलमा ठूलाठूला शिकार गरेको सिंहले बुढो भएपछि ज्यान जोगाउन झिँगा टिपेजस्तै । ‘बुढो भएको बाउ, फट्याङ्ग्रो टिपी खाउँ भनेजस्तै । ‘एमाले सिध्याउनेु हाँसोलाग्दो हुङ्कार गर्दै छन् । एमाले कुनै जादुगरले फू गर्दा रुमाल गायब भए जसरी गायब हुने शक्ति हो र ?

आफ्ना मात्र बर्कत र बुताले बाहिर आउन नसक्ने खाडलमा परेका माधव नेपाललाई अहिलेका घठबन्धनका कोही नेताले उद्धार गर्ने छैनन् । किनभने प्रचण्ड, देउबा, उपेन्द्र, बाबुराम सबै गोनु झाजस्तै लिन मात्र जान्ने, दिन नजान्ने क्याटेगोरीका नेता हुन् । उनीहरूलाई माधव नेपाल बर्बाद भएको हेर्न मन छ । त्यो हेरेर अट्टहास हाँस्न मन छ । एमाले कमजोर बनाउने उनीहरूको उद्देश्य पूरा भयो, अब उनीहरूले माधवलाई हिजोको देउता मानेजस्तो मानमनितो दिन छोड्छन् ।

नेता होइरहन जनताको समर्थन चाहिन्छ । चुनावमा जनताको अभिमत चाहिन्छ । भालेश्वरमा भाँडाकुटी खेलेर माधव नेपालले बनाएको पार्टीले त्यस्तो अभिमत पाउने कुनै सम्भावना छैन । किनभने उनीसँग विचार छैन, अजेण्डा छैन । मैले पद पाइनँ भनेर जनतामा उनले कुन मुखले जानु ? म एमालेभन्दा भिन्न हुँ भनेर जनतालाई कसरी देखाउनु ? १५ वर्ष एमालेको नेतृत्व गर्दा माखो मार्न नसकेका माधव नेपालले नयाँ पार्टी बनाउँदैमा के–के न हुन्छ भनेर जनताले कसरी पत्याउनु र ? जनताले खुट्टी हेरेरै थाहा पाइसके ।

एक माधव नेपालले कार्यकालभन्दा बढी अध्यक्ष बस्दिनँ भनेको सुनिन्छ । एक कार्यकाल पार्टी नै टिक्छ कि टिक्दैन । पार्टी बचे पो अध्यक्ष दोहोर्‍याउनु ! किनभने उनको स्वार्थका लागि कोही एमाले बलिदान हुन तयार छैन, माओवादी र कांग्रेसबाट कोही उनको पछि लाग्न आउँदैन ।

हो, माधव नेपाल खाडलमा परेकोमा एमाले पङ्क्तिलाई चित्त दुखेकै छ । उनको उद्धार भए हुन्थ्यो भन्ने पनि लागेकै छ । नेकपा (एमाले)का अध्यक्षले हात दिएर उनलाई तानिदिए हुन्थ्यो भन्ने लागेकै छ । बिनाकाम निहुँ खोजेर घर छोडेर हिँडेको कुनै बेलाको घरमूलीको विजोग टुलुटुलु हेर्ने रहर परिवारका कसैलाई हुँदैन ।

अझै पनि एमाले पङ्क्ति चाहन्छ–माधव र झलनाथ एमालेमै फर्किउmन्, उनीहरूलाई फर्काइयोस् । जीवनको उत्तरार्द्धमा माधव नेपाल र झलनाथ खनाललाई घरको न घाटको हुनबाट बचाइयोस् । तर सबैले प्रयास गर्दागर्दै पनि उनीहरू राजनीतिक आत्महत्याको बाटो अँगाल्छन् भने त कसको के लाग्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?