वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घोषणा

लोकपथ
196
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।

नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । इन्चार्ज दीपशिखाका अनुसार वाईसीयलको विधानमा १० प्रतिशत सदस्यपछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जनापछि मनोनित हुनेछन् । उनले भने, ‘१० प्रतिशत पछि मनोनित हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौं । यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।’

गत शनिबारबाट सुरु भएको वाईसीयलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका थिए । तर सहमती जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा उद्घाटन गरेको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको वाईसीएल, नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?