एसिडिटी हुँदा के खान हुन्छ, के खान हुँदैन !

लोकपथ
351
Shares

अव्यवस्थित जीवनशैली बिताउने, खानपानमा कुनै किसिमको सन्तुलन नबनाउने जस्ता किसिममा व्यवहारले गर्दा नै धेरै किसिमका रोगहरू लाग्ने गर्छ । अव्यवस्थित जीवनशैली र खानपिनमा सन्तुलन नहुँदा धेरै किसिमका समस्याहरू देखिने गर्छ जसमा एसिड रिफ्लक्स अर्थात् चलनचल्तीको भाषामा भन्दा एसिडिटी पनि एक हो ।

पाचन तन्त्रको कारणले गर्दा यो समस्या भएपछि पेटमा एसिडको उत्पादन धेरै हुन्छ, खानेकुरा घाँटीसम्म आएको जस्तो महसुस हुन्छ र उल्टी समेत हुने गर्छ । यस किसिमको समस्या नवजात शिशुमा पनि देखिने गर्छ । तर वयस्कहरूमा भने भोक लागेको बेला अत्यधिक खानेकुरा खाएमा, खाली पेट लामो समय बस्ने गरेमा, ध्रुमपानको सेवन, राती अबेर खान खाने गरेमा, खाना खाने बित्तिकै सुत्ने जस्ता बानी भएमा एसिडिटी हुने सम्भावना बढी हुन्छ ।

एसिडिटीको समस्या भएका व्यक्तिले चिकित्सकको परामर्शमा जानु नै सबैभन्दा राम्रो उपाय हो । यो बाहेक आफैँले पनि आफ्नो खानपिनको शैलीमा सुधार गर्दै लगेमा एसिडिटीको समस्या कम पनि हुनसक्छ । एसिडिटीको समस्या हुँदा हामीले मूल रूपमा खानपान शैलीमा परिवर्तन गर्नै पर्छ । यो बेला केही यस्ता खानेकुराहरू भने खानै हुँदैन । केही खानेकुराहरू सामान्य रूपमा मात्र खानुपर्ने चिकित्सकहरू सुझाव दिन्छन् । यदि तपाईँमा पनि एसिडिटीको समस्या छ भने चिकित्सकहरूको सल्लाह अनुसार तपाईँले आफ्नो खानपान र जीवनशैली कस्तो किसिमको गर्नु पर्छ भनेरै सुझाव दिन्छन् ।

यो सावधानी अपनाऔँ

धेरै जसो व्यक्तिको खानेकुरा चाँडो चाँडो टन्नै खाने बानी हुन्छ । यस्तो किसिमले खाना एक त खानै हुँदैन, यदि खाइएछ भने टन्नै खाइयो भनेर आराम गर्नु पनि हुँदैन । यदि तपाईँमा पनि यस्तो किसिमको बानी छ भने यसलाई परिवर्तन गर्नुपर्छ । खाना खाने बित्तिकै आराम गर्ने बानी छ भने सकभर खानेकुरा थोरै खानु नै राम्रो हुन्छ । खानेकुरा खाएपछि आराम गर्नु भन्दा केही बेर टहलिनु नै राम्रो हुन्छ ।

अमिलो खानेकुरा कम खाने

यदि एसिडिटीको समस्या छ भने सकभर अमिलो किसिमका खानेकुराको सेवन कमै गर्नु राम्रो हुन्छ । यो समस्या भएका व्यक्तिहरूले अङ्गुर, प्याज, गोलभेँडा, लहसुन, सुन्तला, भूइँकटहर जस्ता खानेकुराको सेवन नगर्नु नै राम्रो मानिन्छ ।

मसलादार खाना नखाने

एसिडिटीको समस्या भएका व्यक्तिहरूले धेरै चिल्लो र मसाले दार खानेकुरा नखाएकै राम्रो मानिन्छ । अहिलेको जीवनशैलीले धेरैलाई घर बाहिरका खानेकुरा खाने बानी बसाउँदै लगेको छ । घर बाहिर पकाइएका अधिकांश खानेकुरा स्वादका लागि बढी चिल्लो र मसलादार बनाइएका हुन्छन् । यस्तै गरेर एसिडिटी भएको व्यक्तिले जङ्क फुड पनि नखाएकै राम्रो मानिन्छ ।

कोल्ड ड्रिंक्स नखाऔँ

एसिडिटी भएको व्यक्तिले सजिलै पाइने किसिमका कोल्ड ड्रिंक्सहरु खानु हुँदैन । यो बाहेक एसिडिटी भएका व्यक्तिले कफी, गेलभेडाको जुस, मदिराको सेवन पनि गर्नु हुँदैन ।

चकलेट पनि नखाऔँ

चकलेटमा क्याफिन र फ्याटको मात्रा धेरै रहेको हुन्छ । यसले एसिडिटीलाई बढाउने हुनाले यस्ता किसिमको खानेकुरा पनि खानु हुँदैन ।

चिल्लो खानेकुरा नखाऔँ

एसिडिटी भएका व्यक्तिहरूले चिल्लो खानेकुराहरू जस्तो फ्रेन्च फ्राई, दूध, आलु चिप्स, मालपुवा, स्वारी, आइस क्रिम जस्ता चिल्लो खानेकुरा खानै हुँदैन । यस्तै मासुका परिकारहरू पनि सकभर नखाएकै राम्रो मानिन्छ ।

के खाने

एसिडिटी भएका व्यक्तिहरूले चिल्लो, पिरो, अमिलो र मसाले दार जस्ता किसिमका खानेकुरा अति नै कम खाने गर्नुपर्छ । यो बाहेक एसिडिटी भएका व्यक्तिले नियमित जसो सौंफ, ज्वानो, दही, मोही, मेवाको सेवन गर्नुलाई उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?