काबुल एयरपोर्टमा पाँचवटा रकेट आक्रमण (भिडियोसहित)

लोकपथ
462
Shares

काठमाडौं । अफगानिस्तान राजधानी काबुलस्थित काबुल एयरपोर्टमा पाँचवटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार सोमबार भएको रकेट आक्रमणलाई अमेरिकी ‘एन्टी मिसाइल सिस्टम’ले बीचमै नष्ट गरिदिएको छ ।

हालसम्म रकेटले कुनैपनि क्षति नभएको बताइएको छ ।

हाल अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ । अमेरिकाले मंगलबारसम्ममा अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिने बताउँदै आएको छ ।

हिजो आइतबार अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा पुन आक्रमण हुनसक्ने चेतावनी दिएका थिए । राष्ट्रपति बाइडेनले शनिबार एक विज्ञप्ति जारी गर्दै २४ देखि ३६ घण्टाभित्र अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका थिए ।

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि भएको विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको मृत्यु भएपछि बाइडेनले बदला लिने चेतावनी दिएका थिए । उनले इस्लामिक स्टेटबाट सो आक्रमण भएको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

यो चेतावनीसँगै अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमणमा ‘आइएस–के समूहका योजनाकार’ को मृत्यु भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?