काठमाडौं । सोमबार (आज) सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।
बिहानैबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार, बजेटलगायत आगामी रणनीतिक विषयमा छलफल भएको छ ।
बैठकमा मुख्यगरी अध्यादेशमार्फत आएको बजेट र मन्त्रिमण्डलका विषयमा छलफल भएको एकीकृत समाजवादीका राष्ट्रियसभा संसदीय दलका नेता देवुराम भुसालले लोकपथलाई जानकारी दिए ।
‘आजको बैठकमा धेरै विषयहरुमा छलफल भएको छ । अध्यादेशमार्फत आएको बजेट के गर्ने भन्ने विषयमा मुख्य केन्द्रित थियो । त्यसमा वर्तमान अर्थमन्त्रीसहित पूर्वअर्थमन्त्रीहरुको समेत उपस्थिति रहेको थियो । बजेटलाई परिमार्जन गरेर पास गर्ने वा नयाँ ल्याउने भन्ने विषयमा समेत छलफल भएको छ ।’ भुसालले लोकपथसँग भने ।
मन्त्रिपरिषद् विस्तार हुने भन्ने विषयमा चर्चा चलिरहे पनि आजको बैठकमा सो विषयमा खासै छलफल नभएको उनले बताए । बैठकमा धेरै विषयहरुको प्रवेश भएपनि निष्कर्ष भने ननिस्किएको उनको भनाइ रहेको छ ।
‘मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने भनिएपनि त्यस विषयमा आजको बैठकमा छलफल हुन सकेन ।’, उनले भने ‘आजको बैठकमा धेरै विषयवस्तुहरु प्रवेश गरे पनि निष्कर्ष भने कुनै विषयमा समेत निस्किन सकेन ।’
बैठकमा सत्तारुढ गठबन्धनका नेताहरु साथै कानुन व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया