म्याग्दी । केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएको अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीको सेवा ठप्प हुन थालेको छ ।
प्रशासनमा जडान भएको इन्भर्टर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि विद्युत आपूर्तिसँगै सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताए ।
“अधिकांश काम कम्प्युटर र इन्टरनेटबाट गर्नुपर्छ”, उनले भने, “विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ ।” आइतवार अपराह्न झरी परिरहेको अवस्थामा कार्यकक्षमा अँध्यारो भएपछि सहायक प्रजिअ पौडेल मोबाइलको टर्च बालेर कागजपत्र प्रमाणित गर्दै थिए । कम्प्युटरमा टाइप गर्न बिजुली नभएपछि अन्य कर्मचारीले अति आवश्यक काम हातले लेखेर गरिरहेका थिए । बागलुङ र पर्वतको सिमानामा पोल ढल्दा आज म्याग्दीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया