काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत विश्वका हिन्दूहरूको आस्थाको धरोहर पशुपतिनाथको संरक्षण र
संवर्द्धनका लागि स्थापित पशुपति क्षेत्र विकास कोषको पदाधिकारी नियुक्तिका लागि शक्तिकेन्द्र धाउने क्रम प्रारम्भ भएको छ ।
कोषका वर्तमान सदस्य–सचिव प्रतिक ढकालको कार्यकाल सकिन लाग्दै गर्दा गठबन्धनका नेताको घरघर दौडधुप गरिरहेका छन् ।
वर्तमान सदस्य–सचिव प्रतिक ढकाल आफ्नो कार्यकाल दोह¥याउने लालसामा छन् । उनी समेत ‘केही दिने गरी’ प्रधानमन्त्री निवास बालुवाटार पुग्ने गरेको स्रोतको भनाइ छ ।
ढकाल तत्कालीन फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका विजयकुमार गच्छदार र जितेन्द्र देवलाई ‘खुसी पारेर’ कोषको सदस्य–सचिवमा नियुक्ति पाएको स्रोतको दाबी छ ।
ढकालकी बैनी नरमाया ढकाल अहिले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसमा)मा छिन् । स्रोतका अनुसार नरमायाले कि आफूलाई मन्त्री कि त दाई (ढकाल)लाई कोषको सदस्य–सचिवमा नियुक्तिका लागि यादवलाई फुस्ल्याइरहेकी छिन् ।
सदस्य–सचिवका लागि ‘आर्थिक प्रस्ताव’ लिएर दौडिरहेका मध्ये कोषका पूर्वसदस्य–सचिव शुशिल नाहटा पनि एक हुन् । नाहटा तीनै व्यक्ति हुन् जो ‘गोठाटार बालुवामा भ्रष्टाचार’ गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छन् ।

नहाटाकी फुपु कुनै बेला विराटनगरस्थित कोइराला निवासमा ‘नोना आमा’ (नोना कोइराला) पछिकी हर्ताकर्ता मानिन्थिन् । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालासँगको ‘पुरानो चिनजान’लाई नाहटाले उपयोग गर्न प्रयत्न गरिरहेका छन् ।
अक्सिजन ग्यासका मालिक शंकर अग्रवाल पनि कोषको सदस्य–सचिव हत्याउन ‘आकर्षक आर्थिक प्रस्ताव’ सहित गठबन्धनका नेताहरूको घरदैलो गरिरहेका छन् । उनले यो पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुमार्फत ‘लबिङ’ गरिरहेको स्रोतको दाबी छ ।
यसैगरी उदयपुर सिमेन्ट उद्योगका सञ्चालक समिति सदस्य तथा कोषको बोर्ड सदस्य देवी बराल पनि सदस्य–सचिवमा आफ्नो दाबी गरिरहेको छन् । उनी सत्तारुढ कांग्रेस निकट भनेर परिचित छन् ।
राजु खत्री कोषका पूर्वबोर्ड सदस्य हुन् । उनी देउवाका साला भुषण राणाका निकट मित्र पनि हुन् । खत्री पनि उक्त सम्बन्धको प्रयोग गरेर कोषको सदस्य–सचिव हुने दाउमा रहेको स्रोत बताउँछ ।
कोषका निवर्तमान कोषाध्यक्ष डा. मिलन थापा उपराष्ट्रपति नन्दकिशोर पुनमार्फत सदस्य–सचिव हुन सकिन्छ कि भनेर प्रयास गरिरहेका छन् । एमाले ललितपुर जिल्ला कमिटी सदस्य समेत रहेका डा. थापालाई कोषको सदस्य–सचिवमा नियुक्त गर्नका लागि उपराष्ट्रपतिका छोरा दिपेश पुन सक्रिय छन् । विश्व हिन्दु महासंघका कार्यकर्ता रहेका थापाले तन्त्र विद्यामा विद्यावारिधि गरेका छन् । यही विद्यामार्फत उनले सबैजसो राजनीतिक शक्ति केन्द्रसँग सम्बन्ध बनाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका नाता पर्ने रौतहटका डा. चन्द्रमणि अधिकारी पनि कोषको सदस्य–सचिवका लागि दौडधुपमा छन् ।
काठमाडौँ महानगरपालिका वडानम्बर–८ का वडा सदस्य डा. अधिकारी कुनै बेला एमालेपछि माओवादी अनि फेरि एमाले हुँदै अहिले नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
कोषको स्वामित्वमा रहेको गोठाटारको बालुवाखानी हात पार्नका लागि एकथरी बिचौलियाहरू आफूअनुकूलको सदस्य–सचिव नियुक्ति गर्न लागि परेका छन् । कोषको नाममा काठमाडौं उपत्यकामा झण्डै चार हजार रोपनी जग्गा कायम छ ।
पशुपति क्षेत्रमा गौरवको आयोजना समेत सञ्चालनमा रहेको कोषको सदस्य–सचिवका साथै कोषाध्यक्षको समेत म्याद सकिएकाले यी दुवै पदमा नयाँ नियुक्तिका लागि आर्थिक चलखेल हुने प्रस्ट संकेत देखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कसको भागमा पर्छ त्यसले पनि कोषको सदस्य–सचिव नियुक्तिमा अर्थ राख्छ । मन्त्रीमण्डल विस्तासँगै कोषको सदस्य–सचिवको नियुक्ति हुनेछ ।
यो पनि
पशुपतिनाथको कल्याण कसले गर्ने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया