२०७५ जेठ ९ गते वसन्ता जैविक मार्गमा पर्ने हुलाकीछेउको जंगलमा बसपार्क र प्रतीक्षालय बनाउने नाममा अतिक्रमण भइरहेको थियो । सो अतिक्रमण हटाउन जाँदा तत्कालीन सेक्टर वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलसहितको आठ जनाको टोलीलाई अतिक्रमणकारीले सांघतिक आक्रमण गरे । सो आक्रमणमा परी तत्कालीन रेन्जर रामअवतार चौधरी र वन कार्यालयका सहयोगी महेश चौधरी घाइते भए ।
२०७७ माघ १२ मा डिभिजन वन कार्यालय कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित वसन्ता वन क्षेत्रमा बनाइको संरचना हटाउन खोजेपछि स्थानीयहरूले अवरोध गरे । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलको नेतृत्वमा गएको टोलीलाई स्थानीयले अवरोध गर्दा काम रोकियो ।

भारतदेखि नेपालको तराई हुँदै चुरेसम्म फैलिएको वसन्ता वन क्षेत्रलाई अन्तर्राष्ट्रिय जैविक मार्ग मानिन्छ । डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरले अन्तर्राष्ट्रिय जैविक मार्ग वसन्तामा स्थानीयहरूको अवरोधका कारण अतिक्रमण थप बढ्दै गएको छ । संघीय र प्रदेश सरकारले वसन्ता क्षेत्रमा भइरहेको अतिक्रमण हटाउनका लागि हरेक वर्ष बजेट पनि विनियोजन गर्दै आइरहेको छ । संघीय सरकारले वसन्ता वन क्षेत्रको अतिक्रमण हटाउन डिभिजन वन कार्यालय धनगढी र पहलमानपुर वन कार्यालयका लागि ५०÷५० लाख रुपैयाँका दरले एक करोड रुपैयाँ विनियोजन गरेको थियो ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले वन क्षेत्र अतिक्रमण गरेर भौतिक संरचना बनाएका स्थानीय तीन जनाको संरचना सो समयमा हटाइएको थियो । उनले स्थानीयको असहयोग भएपछि काम रोकिएको प्रतिक्रिया दिएका थिए ।
कँडेलका अनुसार वसन्ता वन क्षेत्रवरिपरि मानव बस्तीको द्रुत रूपमा विस्तारसँगै वन्यजन्तुको बासस्थान ह्रास भई वन्यजन्तुको ओहोरदोहोरमा अवरोध बढिरहेको छ ।
‘यसैगरी वन विनास हुँदै गयो भने वसन्ता जैविक मार्गको अस्तित्व ४० वर्षमा सकिनेछ’ वनविज्ञ एकराज सिग्देलले ‘वसन्ता करिडोर टुवार्ड एक्सटेन्सन’ शीर्षकको लेखमा कैलालीको वनजंगल विनासको अवस्था विश्लेषण गर्दै उल्लेख गरेका छन, ‘सन् १९५८ देखि सन् २००१ सम्म कैलालीको वसन्ता वनको १७ हजार पाँच सय ६० हेक्टर क्षेत्र घटेको छ ।’ सन् २०१० मा प्रकाशित सो लेखअनुसार वार्षिक चार सय आठ हेक्टरका दरले वसन्ता वन नासिँदै गएको छ ।
बाढी पसेपछि बस्ती विकास
२०६५ मा बाढीबाट प्रभावित भएपछि बाढी प्रभावित क्षेत्रका मानिस वसन्ताभित्र धमाधम घर बनाउन थाले । ‘म २०६३ सालदेखि यहाँ बसोबास गर्दै आएको थिएँ । मोहना नदीले बस्ती प्रभावित भएपछि धेरै मानिसले यतै घर निर्माण गर्न थाले’ छटकपुर वसन्तामा घर बनाएर बसेका महाविर चौधरीले भने, ‘अहिले यो बस्तीमा झण्डै दुई सय ६५ बढी घरधुरी रहेका छन् ।’
छटकपुर वसन्ता मात्र नभई साबिकको भुँईयाँफाटा, वसन्तालगायतका २० भन्दा बढी ठाउँमा अतिक्रमण गरी बस्ती विकास भइरहेको डिभिजन वन प्रमुख कँडेलले बताए । वसन्ता वनका चारैतिर अतिक्रमण भएको पाइन्छ । त्यसमा पनि पश्चिमीतिरबाट अझ बढी अतिक्रमण भएको छ ।
उनले भने, ‘अहिले नयाँ बस्ती बस्न दिएका छैनौँ । पुरानै बस्तीलाई हटाउने प्रयास गरेका छौँ । तर, राजनीतिक दल, अधिकारकर्मी, सुरक्षाकर्मीलगायतको सहयोग नहुँदा समस्या छ ।’ उनले वसन्ताभित्र कैलारी गाउँपालिकाका जनप्रतिनिधी, राजनीतिक दलहरूको पनि बसोबास रहेकाले अतिक्रमण हटाउन नसकिएको बताए ।
वसन्तामा कैलारी भजनी नगरपालिकाका बाढी प्रभावितहरूले समेत बसोबास बढाउँदै गएको जनाइएको छ । वसन्ताभित्र बस्ती विकास भएसँगै अन्य सरकारी संरचना, सडकलगायत पनि निर्माण बढ्दै गएको छ । ‘बस्ती बसेपछि विद्यालय, स्वास्थ्य, मानव बस्ती विस्तार, खेलमैदानलगायतका संरचना निर्माण भइहाल्छन् यसले वन्यजन्तु जैविक मार्ग नै मासिँदै गएको छ’ वन क्षेत्रमा काम गरिरहेका देवराज जोशीले भने ।
बाढीपीडित, भूमिहीन र सुकुम्बासीका नाममा भइरहेको अतिक्रमण तथा विकास निर्माणका नाममा वनजंगल कटानीका कारण वसन्ता जैविक मार्ग नासिँदै गएको छ ।
फोहोर व्यवस्थापन पनि वनमै
अन्तर्राष्ट्रिय जैविक मार्गमै पर्ने वनभित्रै गौरीगंगा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गरिरहेको छ । सामुदायिक वनमा कर्कटपाताले घेरेर फोहोर फाल्ने बनाएको छ । झारपात र साना तथा ठूूला रुखले भरिएको सो सामुदायिक वनमा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गरिरहेको नगरप्रमुख भीमबहादुर देउवाले बताए । उनले भने, ‘राष्ट्रिय वन हो या सामुदायिक वन हो थाहा भएन तर, हामीले फोहोरमैला र गौशाला सोही वनभित्रै व्यवस्थापन गरिरहेका छौँ ।’

अहिले वसन्तामा बस्तीविकास मात्र नभई सरकारी निकायले पनि धमाधम भौतिक संरचना निर्माण गरिरहेको स्थानीयहरू बताउँछन् । ‘जैविक मार्गभित्र फोहोरमैला फाल्दा त्यहाँ भएका जडीबुटी त मर्छन् नै त्यहाँ रहेको लोपोन्मुख वन्यजन्तुहरूले समस्या झेल्छन्’ स्थानीय रामदिन चौधरीले भने ।
सन् २००१ पछि वसन्ता जैविक मार्गको अवस्था विश्लेषण भएको छैन । डिभिजन वन कार्यालय, धनगढीका प्रमुख कँडेलका अनुसार वसन्ता वन अतिक्रमणमा परेको भए पनि अतिक्रमित वन र मौजुदा वनको विस्तृत सर्भे भएको छैन ।
प्रमुख कँडेलले भने, ‘राष्ट्रिय महत्वका ठूला विकास निर्माण आयोजना, हुलाकी सडक, सेती लोकमार्गका साथै स्थानीय तहले निर्माण गर्ने सडक, गौशाला, विद्यालय, खानेपानी आदिका लागि वन मासिने क्रम जारी छ । त्यस्तै, मुक्तकमैया, सुकुम्बासी तथा बाढीपीडितको नाममा अतिक्रमण जारी छ । यसको प्रत्यक्ष प्रभाव वसन्ता वनमा पनि पर्ने गरेको छ । अतिक्रमण तथा लगातारको निवासका कारण अहिले वसन्ता वन निकै संवेदनशील भइसकेको छ ।’
अध्ययन प्रतिवेदन अनुसार वसन्ता वनको कुल ६९ हजार एक दशमलव २२ हेक्टर संरक्षित छ । त्यसमध्ये १४ हजार चार सय ३७ दशमवल ६८ हेक्टर कृषि तथा आवदीमा छ । वसन्ता वन कुल ८३ हजार चार सय ३८ दशमलव नौ हेक्टरमा फैलिएको छ ।
डिभिजन वन कार्यालय, कैलालीकै आर्थिक वर्ष २०७४/०७५ को अर्को प्रतिवेदनमा वसन्ता संरक्षित वनको क्षेत्रफल ६८ हजार आठ सय ३६ दशमलव ५३ हेक्टर मात्रै छ । यसले पनि वसन्ता वनको संरक्षित क्षेत्र दिन प्रतिदिन घट्दै गएको प्रमाणित गरिरहेको छ ।

वसन्ता वनलाई ठूलो वन भनेर चिनिन्छ । केही वर्ष पहिले यो वनको क्षेत्रफल निकै ठूलो रहेको थियो । स्थानीयका अनुसार त्यतिबेला एक÷दुई जना मानिसहरूले जंगल पार गर्न सक्ने स्थिति थिएन । जंगलमा बाघ, भालु, हात्ती लगायत जंगली जनावरको त्रास थियो । हिँडेर जंगल पार गर्न दिनभरि लाग्ने गर्दथ्यो । अहिले अवस्था परिवर्तन भएको छ ।
लगातारको अतिक्रमण तथा फँडानीका कारण वसन्ता वन क्षेत्र ठाउँ–ठाउँमा पातलिएको छ । वसन्ता पूर्वपश्चिम लोकमार्गमा सबैभन्दा साँघुरिएको छ भने पूर्व–पश्चिम हुलाकी मार्गमा १८ किलोमिटर मात्र छ । वसन्ताको दक्षिणी क्षेत्रबाट अतिक्रमण भई वसन्ता अब भारतको दुधुवा नेसनल पार्कसँग करिब करिब विच्छेदको अवस्थामा पुगेको छ । यसले गर्दा जैविक मार्गको अस्तित्व नै खतरामा परिसकेको छ ।
‘वसन्ताको चौडाई पातलिनुमा अतिक्रमण नै प्रमुख कारण हो’ एक जना वन प्राविधिकले भने, ‘पछिल्लो समय कैलाली जिल्लाका विभिन्न वनमा अतिक्रण बढेको छ र त्यसको सबैभन्दा ठूलो मारमा वसन्ता परेको छ ।’
उनका अनुसार वसन्ता वनमा ८८ वटा समूहलाई सामुदायिक वन हस्तान्तरण गरिरसकेको छ । ७१ वटा समूहले वसन्ताभित्र पर्ने वन संरक्षण गरिरहेका छन् ।
वसन्ता वनसम्बन्धी केही तथ्य
पूर्व : भजनी–त्रिशक्ति र घोडाघोडी नगरपालिका
पश्चिम : गौरीगंगा नगरपालिका, कैलारी, चुरे र मोहन्याल गाउँपालिका
उत्तर: मोहन्याल गाउँपालिका
दक्षिण : कैलारी गाउँपालिका, भजनी–त्रिशक्ति नगरपालिकासँग जोडिएको नेपाल–भारतको सीमाना छुट्याउने मोहना नदी
वसन्ताको जैविक विविधता : ३४ प्रकारका स्तनधारी, एक सय ४० प्रजातिका चरा, २७ जातिका माछा, विविध प्रकारका उभयचर तथा सरिश्रृपहरू र एक सय १३ प्रजातिका रुख, जंगली धान ।
जैविक विविधताका संवेदनशील क्षेत्र
पाटेबाघ : भजनी, खैलाड, लालबोझी
हात्ती : लालबोझी, चुरेभावर हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज
गिद्ध : जोशीपुर, भजनी र लालबोझी
सारस : पुरैनाताल, लालबोझी वन्जरिया ताल
डल्फिन : मोहना नदी,
सिमसार : २७ वटा ताल (लौकाभौका, वन्जरिया, पुरैना, घोरताल, सोनिया, रूपिया, नुक्लीताल, लम्की, बखारी, कोलकट्ला, ढडरौवा, पिपरौवा, गुर्दवा, लखराया, दिदीबहिनी, लोहटिहुवा, नमकी, खौरवा, खरौना आदि)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया