यस्तो छ मुलुकको आर्थिक अवस्था

लोकपथ
104
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर औँल्याएको छ ।

राष्ट्र बैंककले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मुलुकको आर्थिक अवस्थाको चित्रण गरेको हो ।

शोधनान्तर

आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

त्यस्तै, २०७७/७८ मा चालू खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

गत वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रहेको थियो ।

पुनर्कर्जा

आर्थिक वर्ष २०७७/७८ मा कुल १४८ अर्ब ७५ करोड पुनर्कर्जा स्वीकृत भई २०७८ असार मसान्तमा १ खर्ब २२ अर्ब ७० करोड लगानीमा रहेको छ ।

गत असार २०७८ असार मसान्तसम्ममा १ लाख ४ हजार १०९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह १६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको १०६ अर्ब ९८ करोड कर्जा रहेको छ । महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएको ५० अर्ब ९८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ५०१ ऋणीको ३ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ ।

वित्तीय पहुँच

कुल ७५३ स्थानीय तहमध्ये २०७८ असारसम्म ७५० तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् । २०७७ असारसम्म ७४७ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०७८ असार मसान्तमा १३३ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ७० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७६५ रहेकोमा २०७८ असार मसान्तमा १० हजार ६८३ पुगेको छ ।

तरलता व्यवस्थापन

गत वर्ष राष्ट्र बैंकले वर्ष रिभर्स रिपोमार्पmत १०९ अर्ब ५४ करोड र निक्षेप संकलन बोलकबोलमार्फत १९३ अर्ब ७५ करोड गरी कुल ३०३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ७८ अर्ब तरलता प्रशोचन भएको थियो ।

त्यस्तै, रिपोमार्फत ६७ अर्ब ९४ करोड र स्थायी तरलता सुविधामार्फत ३७० अर्ब ३४ करोड गरी कुल ४३८ अर्ब २८ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्ष २१९ अर्ब १६ करोड तरलता प्रवाह भएको थियो ।

त्यस्तै, गत वर्ष विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर ३ अर्ब ६२ करोड खुद खरिद गरी ४२८ अर्ब ५४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब २१ करोड खरिद गरी ४९२ अर्ब २४ करोड तरलता प्रवाह गरिएको थियो ।

निक्षेप परिचालन

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । गत असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७.० प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो । गत वर्ष निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ ।

विदेशी सञ्चिति

गत वर्ष विदेशी सञ्चिति १४०१ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले कमी आई २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७८ असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई १२४४ अर्ब ६३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा १२.१ प्रतिशतले कमी आई १५४ अर्ब ३९ करोड कायम भएको छ । त्यस्तै, कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.० प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?