महामारीले निम्त्याएको डरलाग्दो खतरा : बालबालिकामा एन्जाइटी डिसअर्डर हुनसक्छ, यसरी जोगाऔँ

लोकपथ
119
Shares

सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साताबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण रोकिएका वा स्थगन भएका सबै क्षेत्र डामाडोल हुने अवस्थामा पुगिसकेको छ । सबै मानिसहरू आ–आफ्नो व्यवसायको चिन्ता गर्नैपर्ने स्थितिमा पुगिसकेका छन् ।

नेपालमा कोरोना भाइरसको सक्रमण हुन थालेको पनि डेढ वर्ष भइसकेको छ तर संक्रमणदर भने दिनानुदिन बढ्दो क्रममा रहेको छ । जसले गर्दा कति मानिसहरूले आफूले गर्दै गरेको रोजगारी गुमाएका छन् भने कतिले भर्खर सुरु गरेको व्यवसाय डामाडोल भएको छ ।

कोरोना भाइरसको कारणले दिनभरिको मिहिनेतले बिहान–बेलुकाको छाक टार्ने मानिसहरूको त कन्तबिजोक नै बनायो । त्यस्तै गरेर साना, ठूला व्यवसाय पनि अछुतो रहन सकेन, जसका कारण मानिसहरूको जनजीवन प्रभावित बन्न पुगेको छ ।

सुरुसुरुमा त देशव्यापी रूपमा भएको लकडाउनमा मानिसहरू दुःखजिलो गरेर भए पनि घरमा बसे । जसातसो आफ्नो जीवन गुजारे । केही समयपछि अवस्था सामान्य होला भनेर सरकारका हरेक निर्देशन पालना गरेका मानिसहरू झण्डै २ वर्षको अस्थिर र डरमर्दो जोखिमको स्थितिबाट सामान्य अवस्थामा बाहिर आउन सकेका छैनन् ।

विभिन्न कामकाजमा व्यस्त जीवन बिताउँदै आइरहेका मानिसहरूका लागि लकडाउन परिवारसँग समय बिताउने मौकाजस्तै भएको थियो । तर यो समय यसरी लम्बियो कि धेरै मानिसहरूमा मानसिक तनाव समेत उत्पन्न हुन थालेको छ । पहिलाको जस्तो सामान्य जीवन बिताउन पाउने दिन कहिले आउला भनेर मानिस पर्खाइमा रहेका छन् ।

विस्तारै व्यवसायहरू खुल्दै गए पनि मानिसहरू काममा जाँदा डराई डराई निस्किरहेका छन् । कतै संक्रमित भइहालिने पो हो कि ? सबैको दिमागमा संशय रहिरहेको छ । जति समय बित्दै गयो त्यति खतरनाक भेरियन्टहरूले समात्दै गइरहेको अवस्था छ । संक्रमितको सख्या सँगसँगै दिनानुदिन मृत्यकको संख्या पनि बढ्दै गइरहेको छ ।

यस्ता यावत कारणले गर्दा धेरै मानिसहरू मानसिक रोगको सिकार भई आत्महत्याको बाटो रोजेको समेत पढ्न र सुन्न थालिएको छ ।

यस्तै गरेर यी सबै समस्याहरू झेल्दै गर्दा अविभावकहरू आफ्नो बालबालिकाको भविष्यलाई लिएर पनि चिन्तित हुँदै गइरहेका छन् । यतिका लामो समय भइसक्दा पनि विद्यालय नखुलेको कारण विद्यार्थीहरू घरभित्र नै थुनिएर बस्न बाध्य छन् । साथीभाइसँगको भेटघाट, शिक्षक शिक्षिकाहरूले स्कुलमा नै प्रयोगात्मक विधिबाट पढाएको उनीहरूले बिर्सिसकेका छन् ।

खालि एउटा अनलाइन कक्षाको भरमा बालबालिका अडिएको पनि डेढ वर्ष नाघिसकेको छ । तर बालबालिकाको सर्वाङ्गीण विकासका लागि पढाइ, साथीभाइ, खेलकुद आवश्यक छ । बालबालिका सामान्य अवस्थामा देख्नेबित्तिकै उनीहरूमा केही पनि समस्या छैन भनेर सोच्नु हुँदैन । जुन कुराले उनीहरूलाई भित्रभित्रै चिन्तित बनाएको छ, त्यो कुराबारे अभिभावक बेखबर पनि हुन सक्छन् । त्यसैले हरेक अभिभावकले आफ्नो बालबालिका के गर्दै छन् भनेर राम्रोसँग निगरानी राख्नुपर्ने हुन्छ ।

बच्चाहरूमा एन्जाइटी डिसअर्डर, समस्याहरू के–के हुन सक्छ ?

एन्जाइटी डिसअर्डका कारण बालबालिकामा धेरै परिवर्तन देख्न सकिन्छ । जसले बच्चाहरूमा सामान्यभन्दा अजिव अथवा डराउने, चिन्ता उब्जाउनेजस्ता लक्षणहरू देखा पर्दछन् । यस्तो समस्या भएको बेला बालबालिकाहरूमा धेरै किसिमको परिवर्तनहरू देखाउने गर्दछन् । यो कुरा अभिभावकले ख्याल गर्नुपर्छ ।

उनीहरूको व्यवहार परिवर्तन भएको अवस्थामा चासो लिनुपर्छ । पहिलो लक्षण भनेको उनीहरू सामान्य दिनहरूजस्तै मानिसहरूसँग कुरा गर्दैनन् । अचानक बच्चाहरूमा धेरै समस्या देखियो भने यो पनि एन्जाइटीको ठूलो समस्या हो ।

अहिलेको समयमा बच्चाहरू मात्र होइन सबै वर्गका लागि समस्याले भरिएको समय हो । तर बच्चाहरूको लागि झन् यो समय चिन्ताजनक र चुनौतीपूर्ण समय हो । बच्चाहरू पहिले बाहिर खेल्न जान्थे आफ्ना साथीभाई भेट्थे, स्कुल जान्थे, अरुसँग कुराकानी गर्थे, झगडा गर्थे, मेलमिलाप गर्थे, खुलेर हाँस्ने वा खुलेर रुने, साथीलाई सहयोग गर्ने, नयाँ कुरा थाहा पाउँथे, फकाउँथे ।

महामारी सँगसँगै यो सबै कुराहरू उनीहरूको वशमा रहेन । यस्ता कुराबाट उनीहरू वञ्चित हुन पुगे । यसबाट उनीहरू एक्लो महसुस गर्ने, एकोहारो हुने, भनेको नमान्नेजस्ता समस्याहरूबाट गुज्रिरहेका छन् । खाने, खेल्ने, पढ्ने, सुत्ने सबै समय परिवर्तन भएको कारण पनि बच्चाहरूमा यस्तो समस्या आएको विज्ञहरूको भनाइ रहेको छ ।

बच्चाहरूमा आएको समस्या :

  • खाना खाने बानीमा परिवर्तन हुने
  • सुत्ने वा निदाउने बानीमा परिवर्तन हुने
  • एक अर्कामा घुलमिल नहुने समस्या देखिने
  • एक्लै र एउटै चिजमा घोरिइरहने
  • सिक्न सक्ने क्षमता घट्ने

यीबाहेक नयाँ कुरा जान्ने चासो नदेखाउनेलगायतका समस्या भएमा एन्जाइटी डिसअर्डर हुनसक्छ । हुन पनि उनीहरूले लामो समयदेखि साथीभाइसँग सिक्न पाएका छैनन् । विस्तारै नवीनता, रचनात्मक सोच्ने क्षमतामा कमी, गृहकार्यमा ढिलासुस्ती आदि भएमा यो एन्जाइटी डिसअर्डरका समस्याहरू हुनसक्नेतर्फ अभिभावक चनाखो रहनुपर्छ ।

यी संकेत देखिए भने एन्जाइटी भएको बुझ्नुस् :

अविभावकको जिम्मेवारी हो कि बच्चाहरू चिन्तित भएको कुरालाई राम्रोसँग चिन्नु । जब बच्चा कुनै कुरामा अडिग रहन्छन्, आफूभन्दा ठूलाको कुरा सुन्दैनन् । उनीहरूले केही लुकाइरहेजस्तो लागेमा, अनावश्यक डराउने, चिन्तित देखिने, आत्तिने, हैरानी भएजस्तो व्यवहार देखाएमा ।

बालबालिकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ ?

  • यदि यस्ता लक्षण देखिएमा सम्बन्धित ठाँउमा लगेर जाँच गराउने बालबालिकाको अवस्थाबारे बताउने, उसको उपचार कसरी गर्न सकिन्छ छलफल गर्ने ।
  • चिकित्सकहरसँग छलफल गरिसकेपछि आमाबाबुले बच्चाको आवश्यकताअनुसार कदम उठाउने ।
  • बच्चाहरूलाई आमाबाबुको डरबाट बाहिर निकाल्न मदत गर्नुहोस् जसको लागि चिकित्सकहरूको सहयोग लिन सक्नुहुन्छ ।
  • बच्चाको आत्मविश्वास बढाउनुहोस् ता कि उनीहरू डर र समस्याबाट बाहिर आउन सकून् ।
  • बच्चा र उनीहरूको भावना बुझ्ने कोसिस गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?