‘हामी कुनै पार्टीमा विलीन हुँदैनौँ’

लोकपथ
91
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरु कुनै पार्टीमा विलीन नहुने स्पष्ट पारेका छन् ।

केपी ओली नेतृत्वको एमालेका नेता कार्यकर्ताले आफ्नो पार्टीबारे भ्रम फैलाएको उल्लेख गर्दै नेपालले आफ्नो पार्टी विशाल रहेको दाबी गरे । गाउँ र टोलसम्म पार्टीको संगठनात्मक संरचना हुने र कतिपय ठाउँमा यसअघि नै समानान्तर संगठनका रुपमा आफूहरुको संरचना रहेको भन्दै नेपालले सबैले भ्रमलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘भ्रमलाई चिर्नै पर्छ, सही विचारलाई अघि बढाउनु पर्छ’, नेपालले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, ‘हामी मार्क्सवादबाट निर्देशित भएका व्यक्ति हौँ । क्रान्तिकारी विचार बाकेर अघि बढ्छौं ।’ उनले सघीय आफ्नो पक्षमा लागेकामा ३० जना सांसदहरुलाई धन्यवाद दिँदै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु पनि ठूलो संख्यामा आफ्नो पार्टीमा आउने क्रममा रहेको बताए ।

उनले पार्टी सबै मोर्चामा सशक्त ढंगले अघि बढ्ने पनि बताए ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण नेकपा एमाले पार्टी मृतप्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टीनै विभाजित गर्नुपर्ने अवस्था आएको बताए ।

ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको बताए ।

आफ्नो सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि गरे ।

उनले ओली सत्ता बाहेक केही नरोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नतिकता नदेखाएको आरोप टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?