मोडलिङमा धेरै समय दिनै पर्दैनथ्यो

१३ वर्षको उमेरमा प्रिसेन्स नेपाल सौन्दर्य प्रतियोगिता जितेपछि इशा सुवेदीलाई मोडलिङका अफरहरू आउन थाले ।

काठमाडौँको चाँदबागमा स्कुलिङ गरिरहेकी इशालाई पढाई बिगार्न पटक्कै मन थिएन । त्यसैले उनलाई एमएनएस एजेन्सीले टेलिभिजनका लागि विभिन्न विज्ञापनहरूमा मोडलिङ गरायो । इशा भन्छिन्– टेलिभिजनको एडमा काम गर्न निकै रमाइलो भयो धेरै दिन पनि नलाग्ने । चर्चित कलाकारहरूसँग सिक्न पनि पाउने ।

उनले टेलिभिजनका लागि बनाइएका विभिन्न एडहरूमा मिथिला शर्मा, अनमोल केसी, दीपकराज गिरी, वर्षा रावत, सन्जोग कोइरालासंग काम गर्ने अवसर पाइन् ।

स्कलरसिपमा जेभियर्स एकेडेमीबाट प्लस टु गर्ने बेलामा पनि उनले केही विज्ञापनहरूमा काम गरिन् । इशा भन्छिन्– स्कलरसिपमा पढ्दा स्कोरलाई बढाउनु पर्ने, नभए मेन्टेन गरेर भए पनि राख्नु पर्थ्यो । त्यही भएर मेरो ध्यान अरू क्षेत्रमा भन्दा पनि पढाइमै भयो । जसका कारण म्युजिक भिडियो र फिल्म खेल्नका लागि आएका अफरहरूलाई मैले स्विकार्नै सकिन ।

स्कुल देखि कलेज लाइफसम्म आउँदा इशाले ४ वटा सौन्दर्य प्रतियोगितामा सहभागी भइन । सबै सौन्दर्य प्रतियोगितामा उपाधि जिते पनि एउटा प्रतियोगितामा भने उनी फस्ट रनर्स अप भइन् ।

हाल क्यानडाको टोरन्टोमा बिजनेस र मिडिया एड विषय लिएर पढिरहेकी इशा मोडलिङ र पढाइले दिने करिअर नै अपनाउने सोचाइमा छु भन्छिन् । यहाँको पढाई बिश्वस्तरको भएको कारण पढाई सकेपछि जहाँ पनि काम गर्न सक्ने भएर निस्कन्छु भनेरै क्यानडा आएको उनी बताउँछिन् ।

क्यानडामा पनि मोडलिङ एजेन्सी मार्फत मोडलिङको काम गरिरहेकी इशा नेपाली कम्युनिटीहरूले गर्ने कार्यक्रमहरूमा उत्तिकै सरिक हुन्छिन् । आफू नेपाली भएको कारण अहिले हासिल गरेको शिक्षा र अनुभवलाई कुनै न कुनै दिन नेपालमा पनि खर्चिने सोचाई रहेको इशाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?