काल आएको रहेछ कठै ! लेखान्त नै यस्तै रहेछ । नेपाली समाजमा कोही–कसैले आत्महत्या गरेपछि श्रद्धाञ्जलीसँगै खर्चिने वाक्यहरू हुन् यी । तर पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटनाहरू र हरेक वर्षको तथ्यांक केलाउने हो भने अब यस्ता प्रतिक्रिया मात्रै खर्चेर बस्नेभन्दा आत्महत्या रोक्नको लागि व्यक्ति, परिवार, समाज, राष्ट्र र सिंगो विश्व सचेत हुनुपर्ने बेला आइसकेको छ ।
दिनहुँजसो सुनिने आत्महत्याका घटनाहरूको बढ्दो क्रमभङ्गता गर्नको लागि पनि हरेक परिवारले यसबारे जानकारी लिन जरुरी देखिइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रत्येक वर्ष करिब ८ लाख मानिसले आत्महत्याजस्तो कठोर निर्णय लिने गरेका छन् ।
नेपालमा आत्महत्या गर्ने अधिकांशले पासो लगाउँछन् :
आत्महत्या सबै उमेरसमूहले गर्नेगरेका छन् । तर १५ देखि २४ वर्ष उमेरसमूहका मानिसहरूको आत्महत्यादर बढ्दो छ । नेपालमा आत्महत्या गर्नेहरूमध्ये अधिकांश मानिसले झुण्डिएर आत्महत्या गर्ने गरेको तथ्यांक छ । त्यसपछि क्रमशः विष सेवन गरेर, आफूले आफैँलाई गोली हानेर, आगो लगाएर, हाम्फालेर, करेन्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्नेगरेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा आत्महत्यालाई हत्या भएको भन्दै मुद्दा परेका घटनाहरू ह्वात्तै बढेका छन् । जसका कारण सामाजिक सम्बन्धमा दखल पुर्याउँछ ।
प्रहरीको तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटनाहरू वा सहरमै पनि सम्पन्न घरानामा हुने आत्महत्याका घटनाहरू प्रहरीको अभिलेखसम्म आउँदैन । प्रहरीलाई जानकारी गराए पोष्टमार्टमलगायतका कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्ने झन्झटिलो, खर्चिलो, आरोपप्रत्यारोप, खोजबीनमा लाग्नुभन्दा स्वभाविक मृत्यु भन्दै अन्तिम संस्कार गर्ने चलनले कतिपय ग्रामीण क्षेत्रका घटनाहरू अभिलेखमा नै आउँदैनन् । यदि सबै घटनाको अभिलेखीकरण हुने हो भने यो संख्या अझ बढी हुनसक्ने प्रहरीको अनुमान छ ।
फरक कारणको एउटै निर्णय : आत्महत्या
आत्महत्याको एउटै कारण सबै व्यक्तिमा लागू हुन्छ भन्ने हुँदैन । उदासिनता, रक्सी र अन्य लागू औषधको दुरूपयोग दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिबी, बेरोजगारी, मायामा धोका, पढाइमा असफलता जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेका छन् ।
कठोर निर्णय :
आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो । प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण हुने गर्दछ । व्यक्तिले विभिन्न आकांक्षाहरू पालेको हुन्छन् र ती आकांक्षाहरू तत्काल पूरा होऊन् भन्ने चाहन्छन् । ती चाहनाहरू पूूरा नभएपछि उनीहरूमा आफ्नो सोच वा महत्वकांक्षाप्रति नै घृणा जाग्ने तहमा पुग्छन् । तर समग्रतामा अध्ययन गर्दै जाँदा कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मूल कारण समाज हो । हरेक व्यक्तिको इच्छा, चाहना र आवश्यकता फरक–फरक हुन्छन् । उसले ती इच्छा, चाहना आवश्यकताहरूलाई परिपूर्ति गर्न चाहन्छ । तर समाजले उसलाई छुट दिँदैेन । यस्तो अवस्थामा आवेशमा गरिएको निर्णयले व्यक्ति अप्राकृतिक मृत्युवरण गर्छ । व्यक्तिलाई आत्महत्याको तहसम्म पुर्याउन समाजले उत्प्रेरक भूमिका खेलेको हुन्छ । यसमा परिवारले समाजको बढ्ता कुरा सुन्ने परिपाटी पनि छ ।
उदाहरणको लागि पछिल्लो समयका आत्महत्याका घटनाहरूलाई लिन सकिन्छ । युवायुवतीबीच प्रेम सम्बन्ध भयो, उनीहरू विवाह गर्न चाहन्छन् तर समाजले जात, धर्म, वर्ग, पेसा वा यस्तै कुनै बहानामा विवाहको लागि अनुमति नदिएसँगै उनीहरू सँगै मर्ने सँगै बाँच्ने कसम खाएर प्रेम गरेका युगल जोडी छुटिनुपर्दा युवायुवती वा दुवै आत्महत्याको तहमा पुग्छन् ।
परीक्षामा असफल हुँदा धिक्कार्ने हाम्रो समाज बेरोजगार हुँदा निकम्मा उपमा दिन्छ । यी र यस्ता कतिपय सामाजिक कुराहरू छन् जसले गर्दा व्यक्ति विकल्पविहीन सोचसहित उभिन्छ र आत्महत्याको बाटो रोज्छ । त्यसकारण पनि आत्महत्याको मुख्य कारण समाज र यहाँको मूल्य मान्यता नै हो । यस्तै बढ्दो प्रविधिको प्रयोगका कारण बालबालिकामा बढ्दो महत्वाकांक्षा र आफ्नो आयस्रोतको तालमेल मिलाउन नसकेर पनि आत्महत्या गर्ने गरेको पाइएको छ भने अर्कोतर्फ अविभावकहरूले छोडेर हिँडेपछि उनीहरूका बच्चाहरूको एक्लोपन र गलत सङ्गतले नशालु पदार्थ एवं कुलतमा फस्ने गरेको पनि देखिन्छ ।
अभिभावकहरूको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गरिने लिभिङ टुगेदर रिलेसनसिपमा धोका अविश्वास र अपरिपक्क अवस्थामा रहेको अवैध गर्भधारणले युवायुवतीलाई आत्महत्या गर्न बाध्य बनाएको भेटिन्छन् त्यस्तै वृद्धवृद्धाले आफ्नै सन्तानबाट सहनुपरेको अपहेलना र मानसिक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरूलाई खप्न नसकेका कारण समेत आत्महत्या गर्ने गरेको पाइन्छ । समाजशास्त्री इमाइल दुर्खिमले सामाजिक सांस्कृतिक, धार्मिक मान्यताले समाजलाई बाँधेर राखेको हुन्छ भनेका छन् । उनले धर्म भनेको एउटा यस्तो संयन्त्र हो, जसले व्यतिहरू माथि नियन्त्रण गर्दछ भनेका छन् । दुर्खिमले आफ्नो पुस्तक सुसाइडमा समाजमा हुने आत्महत्याका घटनाहरू व्यक्तिगत कारण नभई सामाजिक कारणबाट हुने बताएका छन् ।
आत्महत्या विश्वभरिमा जनस्वास्थ्यको सवाल बनेको छ । यसले समाज, देश र विश्वलाई प्रभावित बनाएको छ । आत्महत्याबाट युवाहरू बढी प्रभावित रहेका छन् । १९ देखि २९ उमेरसमूहका मानिसहरूको दोस्रो ठूलो मृत्युको कारण आत्महत्या बनेको छ । आर्थिक अवस्था कमजोर भएका र मध्यम आर्थिक अवस्था भएका मुलुकहरूमा यो समस्या बढी देखिए पनि आत्महत्या विश्वभरको लागि ठूलो चुनौतीको रूपमा रहेको छ ।
पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्यामा कारणहरू हेर्दा सामाजिक सञ्जाल र सञ्चार उपकरणहरूको दुरूपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एक–आपसमा जोडिदै जाँदा प्रेम सम्बन्धसम्म पुग्ने र पछि परिवारका कारण छुटिने अवस्था आउने वा धोका पाउने, बालविवाह, बहुविवाह बढी हुने, ढाँटेर अर्को विवाह गर्नेजस्ता घटनाहरू हुँदै जाने र अन्त्यमा आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । यस्ता घटनामा पनि कारण भने समाज नै हुनेगरेको छ ।
कसरी जोगिने-जोगाउने त ?
आर्थिक वर्ष २०७३-७४ मा पाँच हजारको हाराहारीमा रहेको आत्महत्या गर्नेको संख्या त्यसपछिको वर्षमा तीन सय थपियो । अर्थात् नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्छन् । आत्महत्याको संख्या बढ्दै जाँदा व्यक्ति, परिवार, समाज र राष्ट्र जिम्मेवार हुनुपर्ने मनोविद् बासु आचार्यले लोकपथ टिभीसँगको अन्तर्वार्तामा भनेका छन् ।
परिवारको साथ एक अचुक औषधि :
मनोविद् आचार्यका अनुसार आत्महत्या गर्ने कुरा मनमा आएको अवस्थामा परिवार वा नजिकका मानिसले क्लू पाएको अवस्थामा उनीहरूलाई बचाउन सकिने सम्भावना रहन्छ ।
आत्महत्याका सम्भावित लक्षणहरू के हुन् ?
बारम्बार निरासा, एक्लोपन र फन्दामा परेको महसुस हुनु
लागुऔषध र माधक पदार्थ सेवन गर्नु वा लतमा हुनु
निरन्तर छटपटी र व्याकुलता बढेको महसुस हुनु
निद्रामा गडबडी र भावनात्मक उतारचढाव हुनु
आत्महत्या गर्ने योजना बारम्बार बनिरहनु
सामाजिक सञ्जालमा आत्महत्या गर्ने योजना तथा निराशाजनक अभिव्यक्तिहरू प्रकट गर्नु
आफ्ना निजी सरसामान अरुलाई दिनु र सामाजिक क्रियाकलाप भोज, मेला, पर्व, भेटघाट आदिबाट टाढिनु
आत्महत्या बारेमा गलत धारणाहरू बारम्बार आइरहनु
अरुको ध्यानाकर्षण गर्न मानिसहरू आत्महत्याबारे कुरा गर्छन् ।
आत्महत्या सधैँ आवेगमा गरिन्छ, तसर्थ मन अस्थिर भएका व्यक्तिहरूमा विशेष निगरानी गर्नुपर्छ ।
कमजोर आत्मबल भएको मानिसले मात्र आत्महत्या गर्छन् ।
बालबालिकाहरूले आत्महत्याको प्रयास गर्दैनन् ।
आत्महत्याको प्रयास र सोच केही मानिसले मात्र गर्छन् ।
आत्महत्या रोक्न सुरक्षाका केही उपायहरू :
मनोसामाजिक सहयोग र मानसिक स्वास्थ्य सेवामा सहज पहुँच
साथीभाइ, परिवार, समाज र अन्य महत्वपूर्ण व्यक्तिको सहयोग
सामुदायिक क्रियाकलापमा सहभागिता
उत्पादनशील र सकारात्मक सामाजिक तथा सांस्कृतिक अभ्यास
मनका कुरा खोल्ने मैत्रीपूर्ण वातावरण
धार्मिक तथा आध्यात्मिक क्रियाकलापमा संलग्नता
आत्महत्याको सोच र प्रकृति व्यवस्थापन
कसरी बच्न सकिन्छ ?
मनोपरामर्श वा मनोचिकित्सा सेवा लिने
आत्महत्याको सोचबारे मन मिल्ने साथी वा व्यक्तिलाई बताउने
आवश्यक उपचार सुरु गर्ने र निरन्तरता दिने
साथीहरू बढाउँदै जाने र सहयोगी व्यक्ति परिवारको सदस्य वा संस्थासँग सम्पर्क समन्वय बढाउने
सामाजिक, आर्थिक र धार्मिक क्रियाकलापमा सहभागी हुने
आत्महत्या आधारभूत पाँच चरणहरू
सम्भावित लक्षणहरूको पहिचान गर्ने
आत्महत्या निरुत्साहित गर्न आ आफ्नो भूमिका निर्वाह गरी सहयोग गर्ने
मानसिक रूपमा स्वस्थ रहन सो हेरचाहको अभ्यास गर्ने
उपलब्ध सेवाबारे जानकारी र पहुँच
आत्महत्याबारे खुलेर कुरा गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया