काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।
कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधनहरू एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताए । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरी जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ ।
मोटरसाइकल उपत्यकाको नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुसी, टोखा र पाटन अस्पताललगायतका स्थानबाट हराएका हुन् । महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया