कुनै बेला कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिएका उपसभापति विमलेन्द्र निधिले शुक्रबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैक्वेटमा सम्पर्क कार्यालय स्थापना गरेर आफू महाधिवेशनका लागि अघि बढेको सन्देश दिए ।
निधिले आफू सभापतिमा उम्मेदवार बन्ने औपचारिक घोषणा समेत गरे । यसले देउवा समूहमा तरंग ल्याएको छ । निधिले आफ्नो सम्पर्क कार्यालय सुरु गरेसँगै देउवा क्याम्पबाट आफू बाहिरिएको सन्देश पनि दिए ।
देउवा–निधि सम्बन्ध
देउवा र निधि दुवैजना नेपाल विद्यार्थी संघको (नेविसंघ) राजनीतिबाट उदाएका नेता हुन् । नेविसंघको स्थापनापछि पहिलो सभापति विपिन कोइराला भए पनि देउवा निर्वाचित पहिलो सभापति हुन् । त्यसैगरी निधि नेविसंघमा देउवापछिको निर्वाचित दोस्रो सभापति हुन् ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका देउवा र निधि कांग्रेसभित्र सुरुमा फरक–फरक समूहमा लागेका थिए । देउवा कोइराला समूहमा लागे भने निधि सन्त नेता कृष्णप्रसाद भट्टराई गुटमा लागे । तर पछि परिस्थितिले दुवै नेता एउटै समूहमा सहभागी भए ।
२०५७ मा कांग्रेसको पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिन रामचन्द्र पौडेलले नमानेपछि भट्टराई पक्षले देउवालाई सभापतिमा उठाउने निर्णय गर्यो । त्यसमा देउवा र निधि एउटै समूहमा थिए ।
देउवालाई १३औं महाधिवेशनमा निधिले दरिलो साथ दिए । देउवा सभापतिमा निर्वाचित भए । देउवाले पनि निधिलाई उपसभापति बनाए । त्यतिबेला देउवाले निधिसँग १४औं महाधिवेशनमा आफू उम्मेदवार नबन्ने बताएको एक कांग्रेस नेताले जानकारी दिए ।
आ–आफ्नै स्वार्थको टकराव
२०७३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका बेला निधि उपप्रधान एवं गृहमन्त्री बने । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने विषयमा देउवा र निधिबीच कुरा मिलेन । देउवाले अघि सारेको व्यक्तिलाई निधिले चासो दिएनन् ।

देउवाले अघि सारेको व्यक्तिलाई निधिले अस्वीकार गरेपछि उनीहरूबीच सम्बन्ध चिसियो । तर पछि अरु नेताहरूको मध्यस्थतामा देउवा र निधिबीचको टाढिएको सम्बन्धलाई केही नजिक ल्याउने प्रयास भयो । तर दुवैमा तुष भने बाँकी नै रहयो । देउवा र निधिका सम्बन्ध बिग्रनुको यो पहिलो कारण थियो ।
दोस्रो कारण देउवा र निधिबीच चिसोपना आउनुमा २०७४ को निर्वाचन पनि रहेको छ । निधि धनुषाबाट चुनाव लड्दा उनलाई देउवा र उनकी पत्नी आरजुले सहयोग नगरेको निधिनिकट एक नेताले लोकपथलाई बताए । निधि निर्वाचनमा पराजित भए । तत्कालीन राजपाका नेता राजेन्द्र महतोले चुनाव जिते । निधि हार्नुमा एमाले अध्यक्ष केपी ओलीको भूमिका पनि रहेको कांग्रेस नेताहरू बताउँछन् ।

तेस्रो कारण हो, देउवाले निधिलाई दिएको वचन पालना नहुनु । देउवाले १४औं महाधिवेशनमा आफू उम्मेदवार नबन्ने बरु निधिलाई सघाउने भनेर जुन बचन दिएका थिए, त्यसविपरीत देउवा आफैँ उम्मेदवार बनेर सभापतिमा दोहोरिन खोजेपछि उनीहरूबीच सम्बन्धमा दरार पैदा भएको हो । निधि देउवाले सघाउँछन भनेर ढुक्क बसे । तर देउवाले निधिलाई सभापतिमा सहयोग गर्ने सम्भावना कम छ । निधिनिकट एक नेताका अनुसार देउवाले निधिलाई सधैँ प्रयोग मात्र गर्न खोजे ।
यिनै तीन कारणले निधि देउवाबाट टाढिँदै गएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया