बाढी–पहिरोको कहर : जेठ ३१ यता ८५ को मृत्यु, ४४ वेपत्ता

लोकपथ
21
Shares

काठमाडौं । मनसुन सुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिइन् ।

गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपदबाट ७० जिल्ला प्रभावित भएको जानकारी दिए।

आजमात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आज तीनको मृत्यु र तीन जना वेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढी पहिराले क्षति पुर्याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न एक अर्ब ११ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

महाशाखा प्रमुख पाण्डेले बाढी पहिरोका कारण आज साना ठुला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिए। केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?