चाक्सिबारी बैठकपछि पौडेलले देउवालाई भेट्दै

लोकपथ
273
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ ।

पार्टीको क्रियाशील सदस्यता सम्बन्धित विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाएका हुन् । शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरुको बैठकको निर्णय अनुसार उनले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिन लागेको नेता डा. मिनेन्द्र रिजालले जानकारी दिए । बैठकमा पार्टीका जिल्ला सभापतिहरुको माग अनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरिएको थियो ।

नेता रिजालले भने, ‘एकातिर क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्छ भन्ने विषय छ भने अर्कोतिर समयमै अधिवेशन प्रक्रिया सुरु गरेर जानुपर्नेछ । त्यसैले यी व्यवहारिक कठिनाईहरुलाई समाधान गरेर महाविधेशन सम्पन्न गर्ने बाटोको खोजी गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ । त्यहीँ निष्कर्षको आधारमा सभापतिजीसँग वरिष्ठ नेताले भेटेर कुराकानी गर्ने समय लिनु भएको छ । भरे भेटेर कुरा गर्नुहुन्छ । मलाई विश्वास छ–जस्तोसुकै कठिनाईका बाबजुत पनि ती समस्याहरु समाधान गरेर पार्टीको महाधिवेशन समयमै सम्पन्न हुनेछ ।’

नेपाली कांग्रेसको महाधिवेशन बैधानिक ढंगले आगामी मंसीर ९–१३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका बाँकि विवाद अझै समाधान नहुदा यसको बैधानिकतामाथिनै प्रश्न उठन सक्ने भन्दै पौडेल पक्षले क्रियाशील सदस्यताको बाँकि विवाद छिटो टुंगो लगाएर पार्टी महाधिवेशनको प्रक्रिया छिटो टुंगो लगाउन सभापति देउवालाई दबाब दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?