काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषद्सम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको छ ।
बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू कसैको पनि दबाब र प्रभावमा नपर्ने स्पष्ट पारेका छन् ।
बहसका क्रममा रिट निवेदक ओमप्रकाश अर्यालले न्यायाधीश राणालाई इजलासमा नबस्न सुझाव दिएपछि प्रतिकृयास्वरुप राणाले सो कुरा बताएका हुन् ।
संवैधानिक परिषद्को पदेन सदस्यको रुपमा प्रधानन्यायाधीश रहने भन्दै अर्यालले स्वार्थ बाझिने मुद्दाबाट प्रधानन्यायाधीश अलग रहनुपर्नेमा सुझाव दिएका थिए ।
जवाफ दिँदै प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा अन्य न्यायाधीशहरुले गरेको निर्णयमा आफू पूर्ण सहमत हुने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै आफू संवैधानिक इजलासमा नबस्ने भन्ने कुरा व्यवहारिक नहुने उनले बताए ।
‘तपाईं विश्वस्त हुनुस्, चार जनाले दिएको रायमा म पूर्ण रुपमा सहमत हुन्छु तर संवैधानिक इजलासमा म बस्छु ।’ प्रधानन्यायाधीश राणाले भने । ‘सबैभन्दा राम्रो भनेको छ इजलासमा नबस्दा नै हुन्छ भन्ने हो तर एकै दिनमा सकिन्छ र ? अनि म महिनौँ बिदा लिएर बस्नु ?’
प्रधानन्यायाधीशलाई त्यसबारेमा थप प्रष्ट पार्दै रिट निवेदक अर्यालले आफैँ सम्बन्धित भएको मुद्दामा आफू बस्न नहुने प्रष्ट पार्न लागेको उनले बताए । ‘आफ्नो मुद्दामा आफैँ न्यायाधीश हुनुहुँदैन भन्ने न्यायिक सिद्धान्तअनुसार बिदा लिएर सहयोग गरिदिनुस् भन्ने मेरो अनुरोध हो ।’ उनले भने ।
शुक्रबारको संवैधानिक इजलासमा प्रधानन्यायाधी राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया