केनको पुनरागमनमा टोटनह्याम विजयी

काठमाडौं। युरोपा कन्फरेन्स लिगको छनोट खेल अन्तर्गत इंग्लिश टोली टोटनह्याम हटस्परले पोर्चुगिज टोली पाकोस डे फेरेरालाई ३-० गोलले पराजित गरेको छ।

टोटनह्यामको घरेलु मैदानमा बिहीवार राति खेलिएको दोस्रो लेगको खेलमा टोटनह्यामका स्ट्राइकर ह्यारी केनले दुई गोल गरेका थिए। पहिलो लेगमा १-० को हार बेहोरेको स्पर्सलाई गए रातिको खेलमा जित अपरिहार्य रहेको थियो।

बुधवार मात्रै आफ्नो भविष्य टोटनह्याममै रहेको जानकारी दिएका केनको यस सिजनको पहिलो सुरुवातमा उनले खेलको ९औं मिनेटमा नै गोल गरेका थिए। स्पर्सका नयाँ खेलाडी ब्रायन गीलको पासमा केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३५औं मिनेटमा केनले आफ्नो तथा क्लबको दोस्रो गोल गर्न सफल भएका थिए। पहिलो हाफको खेल अन्त्य हुँदा २-० को अग्रता लिएको टोटनह्यामले दोस्रो हाफमा अर्को गोल थपेको थियो।

Image

खेलको ७०औं मिनेटमा टोटनह्यामका मिडफिल्डर जियोभानी लो सेल्सोले गोल गर्दै स्पर्सलाई सहज जित दिलाएका थिए। यस जितसँगै टोटनह्यामले दुवै लेग गरी ३-१ गोल अन्तरको जित निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?