काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको छ । आव २०७७/७८ को सोही अवधिमा नौ अर्ब ६२ करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको थियो ।
आव २०७७/७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको थियो । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७/७८ मा कूल १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । आव २०७७/७८ मा कूल वस्तु व्यापार घाटा वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो ।
चालू आवको पहिलो महिनामा व्यापार घाटा एक खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबर पुगेको छ । गत वर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको छ । गत साउनमा एक खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८९ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट १६ अर्ब ८६ करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको छ । चीनबाट २० अर्ब ९७ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ मात्रै आठ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
विभागका अनुसार सबैभन्दा बढी वस्तु आयात र निर्यात वीरगन्ज भन्सारबाटै भएको छ । त्यसपछि विराटनगर भन्सारबाट बढी निर्यात भएको छ । सो भन्सारको निर्याततर्फको हिस्सा २८.२३ प्रतिशत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया