साफ च्याम्पियनसिप अगाडि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण कतारमा

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप अगाडि कतारमा बन्द प्रशिक्षण गर्ने पक्का भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीवार नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारको राजधानी दोहामा गर्ने जानकारी दिएको छ। नेपाली टोली आगामी सेप्टेम्बर १० (भदौ २५)मा दोहा प्रस्थान गर्ने भएको छ।

साफ च्याम्पियसिपको तयारीका लागि अहिले राष्ट्रिय टोलीले पोखरामा बन्द प्रशिक्षण गर्दैछ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा हाल २५ खेलाडी पोखरामा अभ्यासरत रहेका छन्।

कतार प्रस्थान गर्नु अगाडि नेपालले भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। नेपालले आगामी सेप्टेम्बर २ र ५ (भदौ १७ र २०)मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ।

नेपाल सेप्टेम्बरको अन्तिम साता माल्दिभ्स प्रस्थान गर्ने सम्भावना रहेको छ। साफ च्याम्पियनसिप माल्दिभ्सको राजधानी मालेमा अक्टोबर १ देखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?