बतास समूहले खरिद गर्‍याे साढे ३ अर्बमा मणिपाल कलेज

लोकपथ
1.2k
Shares

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । बतास अर्गनाइजेसन र अटोवेज समूहले संयुक्त रूपमा ३ अर्ब ५० करोड रुपैयाँमा उक्त अस्पताल खरिद गरेका हुन् ।

बतास समुहका अध्यक्ष आनन्दराज बतास र अटोवेज समूहका अध्यक्ष नारायण पौडेलले संस्थागत रुपमा अस्पताल खरिदका लागि प्रारम्भिक सम्झौता गरेका छन् । बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत सेयर कायम हुने गरी कलेजको जग्गासहितको संरचना खरिद गरिएको अर्गनाइजेसनका अध्यक्ष आनन्‍दराज बतासले जानकारी दिए ।अस्पतालसँग १० रोपनी जग्गा र भवनका साथै अतिरिक्त ३० रोपनी जग्गा छ ।

अटोवेज समूहका अध्यक्ष पौडेलले मेडिकल कलेज र अस्पतालको कुल मूल्यांकन २ अर्ब २५ करोड रुपैयाँ रहेकोमा कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य दायित्व गरी ९७ करोड बढी रुपैयाँ तिर्न बाँकी रहेकोले सो दायित्व समेत सकारेर कुल साढे ३ अर्ब रुपैयाँमा खरिद गर्न लागिएको जानकारी दिए ।

स्राेतका अनुसार भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको उक्त अस्पतालमा कलेज तथा अस्पताल संचालनमा नेपाल सरकार र मणिपाल कर्मचारी युनियनको लगातार असहयोग रहँदै आएपछि भारतीय समूह बिक्रीको मनस्थितिमा पुगेको हाे ।

कलेजले वार्षिक रुपमा १ सय जनालाई एमबिबिएस पठाउँदै आएको छ । यस क्षेत्रकै ठूलो अस्पताल मणिपाल शिक्षण अस्पतालमा करिब ८ सय शैया छन् ।

नेपालमा बाह्य लगानीको पहिलो मेडिकल कलेजका रुपमा सन् १९९४ बाट सञ्चालनमा आएको यो अस्पतालमा ११ सयभन्दा बढी जनशक्ति कार्यरत छन् । अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रुपमा लैजाने योजना रहेको अध्यक्ष बतासले बताए । यस्तै, मेडिकल कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबीए एन्ड इञ्जिनियरिङ र बीडीएस अध्ययन सुरु गर्ने योजना रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?