एसिया छनोट रद्द भएपछि नेपालले यू-१९ विश्वकप खेल्न नपाउने

काठमाडौं। सन् २०२२ मा वेस्ट इन्डिजमा आयोजना हुने यू-१९ एकदिवसीय क्रिकेट विश्वकपमा नेपालको सहभागिता नहुने पक्का भएको छ।

आगामी सेप्टेम्बरमा हुने भनिएको यू-१९ एसिया क्षेत्र छनोटका खेल कोरोना महामारीका कारण रद्द भएसँगै नेपालको विश्वकपमा सहभागिता नहुने पक्का भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एसिया, अमेरिका र इएपी खेत्रको छनोट खेल रद्द गरेको हो।

छनोट चरणका खेलहरु नहुने भएसँगै आईसीसीले पछिल्ला पाँच संस्करणको छनोटका आधारमा सन् २०२२ को विश्वकप खेल्ने टोलीको निर्णय गरेको छ। पछिल्ला पाँच संस्करणको आधारमा एसियाबाट युएई, अमेरिकाबाट क्यानडा तथा इएपीबाट पपुवा न्युगिनी (पीएनजी) स्वतः छनोट भएका छन्।

एसिया क्षेत्र छनोटमा नेपाल सहित युएई, कुवेत, सिंगापुर, ओमान र मलेसिया सहभागी थिए। पछिल्ला ५ संस्करणमा युएईले तीन पटक यू-१९ विश्वकपमा सहभागिता जनाउँदा नेपाल दुई पटक छनोट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?