काठमाडौं । फुटबल विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित छानबिन समितिले एन्फाभित्रको विवाद आफै समाधान गर्न निर्देशन दिन सुझाव दिएको छ ।
छानबिन समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई विवाद सृजना हुने कुनै पनि गतिविधि नगर्न सचेत गराउन पनि सिफारिस गरेको छ ।
बुधबार राखेपलाई प्रतिवेदन बुझाउँदै छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको हो । यसैगरी मुख्य प्रशिक्षक अल्मुताइरीले विवादास्पद राजीनामा सम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन राखेपले निर्देशन दिनुपर्ने पनि छानबिन समितिले भनेको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार तथा अन्य कसैप्रति लक्षित गरी धारणा राख्न पनि अल्मुताइरीलाई रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
छानबिन समितिले एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्नुपर्ने पनि औंल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया