जङ्गली जनावरका कारण किसान हैरानमा, बालीनाली सखाप पार्दै

RSS
126
Shares

बैतडी । बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् । यी जङ्गली जनावरले यहाँका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका हुन् ।

खास गरेर मुख्य खाद्यबालीका रुपमा रहेको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेका हुन् । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन धौधौ परेको किसानले बताएका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन सकस परेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए । पाक्नै लागेको मकैलाई जङ्गली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नु परेको छ ।

उनले भने, ‘जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नु परेको छ, रातमा निद्रा छैन, दिनमा भोक छैन ।’ मकैको घोगा लागेको बेलादेखि नै जङ्गली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि बँदेल र दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ ।

रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसान जयसिंह नाथले बताए । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको नाथको भनाइ छ । ‘रातभरि खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौँ,’ उनले भने, ‘आफूहरुले हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौँ ।,’ यसका साथै थाल ठटाउने पनि गर्ने गरेका छन् । बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नु परेको स्थानीयवासी वीरेन्द्र धामीले बताएका छन् । बाँदरले मकैबालीसँगै आँप, अनारलगायत फलफूल पनि नष्ट पारेको छ । उनले भने, ‘बादँरको आतङ्क बढ्दै गएकाले नियन्त्रणका लागि स्थानीय तहले पहल गरिदिनुपर्छ ।’

पाटन नगरपालिका–५का किसानको मकैबाली बँदेलले नष्ट गरिदिँदा किसान समस्यामा परेकोे स्थानीयवासी हिरा पाण्डेले बताएका छन् । बँदेल धपाउन उनीहरु रातभर वर्षाको समयमा मकै बारीमा बस्न बाध्य भएका छन् । ‘बँदेलको डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

साँझबिहानको छाक टार्नका लागि लगाएको मकै बाली बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानको भनाइ छ । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानहरुले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । स्थानीय सरकारहरुले किसानका समस्या समाधान गर्न नसकेको किसान वीरबहादुर टेरले बताए । जङ्गल नष्ट हुँदा खानेकुराको अभावमा जङ्गली जनावर खेतबारीमा पस्ने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा १४ हजार नौ सय हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?