काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो रहेको दोहोर्याएका छन्।
उनले उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताए।
तर उनले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गरेका छन्।
साथै समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उनले जानकारी दिए।
यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए।
उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताए।
तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्याइनुपर्ने उनको भनाइ छ।
उद्धार कार्य समयसीमाभित्रै सम्पन्न गर्नुपर्नेमा जोड ‘जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो’, राष्ट्रपति बाइडनले भने। कतिपय अमेरिकी फौज फर्किइसकेको र त्यसले उद्धार कार्यलाई प्रभावित नपारेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
नौ दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसहरूलाई उद्धार गरिएको छ।
तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन्।
राष्ट्रपति बाइडनले ‘हाम्रा मानिसहरूलाई बाहिर निस्कन सहयोग गर्न तालिबानहरूले कदम चालिरहेका छन्’ भनेका थिए।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया