के किनारा लागेकै हो कांग्रेसको क्रियाशील सदस्यता विवाद ?

जिल्ला सभापतिहरुको धर्ना

क्रियाशील सदस्यताको टुंगो लगाएसँगै अब कांग्रेसको १४औँ महाधिवेशन तोकिएकै मितिमा हुने पक्का भएको छ । क्रियाशील सदस्यता विवादकै कारण १४औँ महाधिवेशनको कार्यतालिका प्रभावित मात्रै भएन महाधिवेशनको मिति नै पटक–पटक सार्नुपरेको थियो ।

अब कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने निश्चित भएको छ । कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल सम्मिलित कार्यदलले सदस्यता विवाद टुंग्याएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको हो । सो कार्यदलले क्रियाशील सदस्यता विबाद छानबिन समितिले टुंग्याउन बाँकी रहेका विषयलाई सल्टाएर सोमबार प्रतिवेदन दिएको हो । विवाद छानबिन समितिले भने यसअघि नै प्रतिवेदन बुझाइसकेको छ ।

‘कार्यदलले विवाद किनारा लगाएर प्रतिवेदन शीर्ष नेतालाई बुझाएसँगै अब क्रियाशील सदस्यता विवाद टुंगिएको र महाधिवेशन निश्चित भएको छ’, क्रियाशील विवाद छानबिन समितिका सदस्य श्याम घिमिरेले लोकपथसँग भने, ‘अब यही भदौ १८ गतेबाट सुरु हुने भनिएको कांग्रेसको वडा अधिवेशन सुरु हुन्छ ।’

वडा अधिवेशनलाई कांग्रेसको महाधिवेशनको प्रारम्भिक चरण मानिन्छ । महाधिवेशनको प्रारम्भिक चरण भदौ १८ बाट सुरु भए पनि केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म हुनेगरी तोकिएको हो । वैधानिकतामा प्रश्न उठ्न नपाओस् भन्दै कांग्रेसले भदौ १८ बाट महाधिवेशन सुरु भएको सन्देश दिन खोजेको हो । किनकि कांग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीको कार्यकाल भदौ २३ बाट सकिँदै छ ।

क्रियाशील सदस्य महाधिवेशनको प्रारम्भिक मतदाता भएकाले कांग्रेसमा सधैँ यसका बारेमा विवाद हुनेगरेको छ । त्यसकारण कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताबारे नेताहरूबीच लामो समयसम्म विवाद हुनेगरेको छ ।

महाधिवेशनको मुखमा आएर मात्रै सदस्यता नवीकरण गर्ने र नयाँ लिने परीपाटी कांग्रेसमा विकसित भएको छ । तर कांग्रेस विधानमा हरेक वर्ष सदस्यता नवीकरण र नयाँ वितरण गर्ने भनिए पनि त्यसको पालना हुने गरेको छैन ।

के पूर्णरूपमा विवाद समाधान भएकै हो त अब ?

कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी विवादलाई सहमतिमा टुंग्याएर महाधिवेशनको लागि बाटो खुला गर्ने काम मात्रै भएको हो पूर्णरूपमा विवादै टुंगो लगाएको भने होइन । कांग्रेसमा विवाद टुंग्याउन सैद्धान्तिक सहमति मात्रै भएको हो । अर्थात् महाधिवेशनका लागि बाटो खोल्ने मात्रै काम भएको हो । धेरै विवाद भएका ठाउँका सदस्यता विवाद स्थगित गरिएको छ ।

सप्तरी, धनुषालगायतका जिल्लाका कतिपय वडामा देखिएका समस्यालाई अर्काे महाधिवेशनसम्मका लागि स्थगित गरिएको छ । स्थगित गर्ने विषयमा नेताहरूको सहमति भएर महाधिवेशनलाई बाटो खुलाइएको हो । सम्भव भएका स्थानमा भने विवाद समाधान गरेको छ ।

छानबिन समितिले पनि धेरै विवाद देखिएका वडाहरूको हकमा सदस्यताको विवाद अर्को महाधिवेशनका लागि स्थगित गरेको छ । सिटौला, लेखक र रिजालको कार्यदलले छानबिन समितिले गरेको निर्णय कार्यान्वयन गर्न शीर्ष नेतासमक्ष सिफारिस गरेको छ । त्यसैगरी अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुको क्रियाशीलताको विषयमा पनि धेरै जसो टुंग्याइएको बताइएको छ ।

जिल्ला सभापतिहरूको धर्ना

मंगलबार कांग्रेसका केही जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सम्पूर्ण नामावली सार्वजनिक गर्न माग गर्दै ललितपुरस्थित कांग्रेस मुख्यालय सानेपामा धर्ना दिएका छन् ।

मंगलबार बिहानैदेखि उनीहरूले नामावली सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका थिए । जिल्ला सभापतिहरूले पटक–पटक पार्टी नेतृत्वलाई नामावली सार्वजनिक गर्न माग गरे पनि बेवास्ता गरेको भन्दै आफूहरु बाध्य भएर धर्नामा बस्नुपरेको जिल्ला सभापतिहरूको भनाइ छ । धर्नामा कांग्रेस संस्थापनइतरका जिल्ला सभापतिहरूको सहभागिता रहेको थियो ।

सोमबार सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी कांग्रेसले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । तर विवाद मिलेपछि सोमबार नै सदस्यता सार्वजनिक अपेक्षा गरिएको थियो । तर त्यो नभएपछि मंगलबार संस्थापनइतरका जिल्ला सभापतिहरूले धर्ना दिएका हुन् ।

जिल्ला सभापतिहरूले सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने माग पनि राखेका छन् ।

धमाधम सदस्यता छापिँदै

कांग्रेस स्रोतले लोकपथलाई बताएअनुसार मंगलबार बिहानबाट क्रियाशील सदस्यहरुको नामावाली धमाधम छाप्न थालिएको छ । सम्भव भएसम्म मंगलबार साँझसम्म धेरैजसो जिल्लामा क्रियाशील सदस्यता नामाबली छापेर पठाइने र नभए बुधबार पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?