प्रतिव्यक्ति माछा खपत तीन किलोभन्दा कम

काठमाडौँ, २३ चैत- अल्पविकसित मुलुकमा प्रतिव्यक्ति माछाको वार्षिक उपभोग औसत ११ किलो हुनुपर्नेमा नेपालको उत्पादनले वार्षिक प्रतिव्यक्ति २.९३ किलोमात्र पुग्दछ । विश्वव्यापीरूपमा औसत २० किलो र विकसित मुलुकमा यो औसत उपभोग २८ किलो रहेको माछाविज्ञ रामानन्द मिश्रले जनाए,  कारोबार दैनिकमा खबर छ ।“अहिले ८३ हजार ७ सय टन घरेलु उत्पादन भएको छ । यस आधारमा प्रत्येक व्यक्तिको भागमा २.९३ किलो पुग्छ,” मिश्रले भने । तर, यसमा शाकाहारी जनसंख्या २० प्रतिशतलाई घटाएर हेर्दा पनि वार्षिक उपभोगको औसत ३.५ किलो जतिमात्र हुन आउने उनले जनाए । उनले भने, “लागतको प्रतिफल राम्रो छ । बजारको सम्भावना व्यापक छ ।”यसैगरी माछामा विद्यावारिधि गरेका प्राध्यापक डा. श्यामनारायण लाभले देशको अर्थतन्त्रमा माछा उत्पादन वृद्धिले टेवा पुग्ने भए पनि यो विशेषरूपले प्रदेश नम्बर २ का लागि निकै महत्वपूर्ण हुने बताए । प्रदेश नम्बर २ मा अझ पनि पर्याप्त जलाशयहरूको अवस्था राम्रो भएकाले यो प्रदेशको समृद्धिका लागि माछा उत्पादनले महत्वूर्ण योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे ।हालैमात्र माछा उत्पादन गर्ने किसानहरूका लागि जनकपुरमा तालिमको आयोजना गरिएको उल्लेख गर्दै डा. लाभले भने, “प्रदेश नम्बर २ का ३२ जना किसानहरूको सहभागीतामा यो तालिमको आयोजना गरिएको थियो ।”सरकारले यस क्षेत्रको विस्तारका लागि किसानहरूलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनेजस्ता कार्य गरेको भए पनि यसका लागि ठोस नीति र कार्यक्रमको आवश्यकता रहेको उनले जनाए । उनले भने, “तराईका २२ जिल्लामा सरकारले किसानहरूलाई माछा उत्पादन वृद्धिका लागि ऋण सहयोग गरेको छ । तर, देशमा माछाको व्यवसायिक उत्पादनका लागि चाहिन माछा प्राविधिज्ञहरू नै छैनन् ।”माछा उत्पादनको अपेक्षित वृद्धिदर भने यो वर्ष केही घट्ने अनुमान विज्ञहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?