नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तर्क्रिया

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँग एक भर्चुअल अन्तरक्रिया गरेको छ ।

भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सम्मुपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँग एक भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

भर्चुअल माध्यमबाट गरिएको उक्त अन्तर्क्रियामा भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई सम्बोधन गरेकी थिइन्।

त्यस लगत्तै उपस्थित सहभागीहरुलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराइएको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले सहभागीहरुसँग कुराकानी गर्नुका साथै उनीहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ पनि दिएका थिए। उक्त कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एस एन बर्देले गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेको उल्लेख गरे। खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरे। यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिए।

त्यसैगरी नेपालमा व्यवसाय क्षेत्रमा सहभागीता जनाउन सहसचिव केशव कुमार शर्माले भारतीय कम्पनीहरुलाई स्वागत गर्नुका साथै उनले पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए। सोही क्रममा उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिए। उनले परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरुसँग सम्बन्ध विस्तार गर्न सहभागीहरुलाई प्रोत्साहित समेत गरेका थिए ।

गएका केही वर्षहरुमा भारतीय पूर्वाधार कम्पनीहरुले भारत भित्र तथा भारत बाहिर प्रमुख परियोजनाहरुको विकास गर्दै गणस्तरीय निर्माण, समयावाधि भित्रै निर्माण सम्पन्न गर्दै आइरहेको बताइएको छ। भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?