काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमाले एकताबद्ध हुने संकेत देखिएको छ । यदी एमालेले तयार पारेको १० बुँदे कार्यान्वयन भएमा आज (भाद्र ८) ३ बजे बस्ने स्थायी कमिटी बैठकले पार्टी एकताको लागि मार्गप्रशस्त गर्ने संभावनातर्फ संकेत गरेसँगै करिब ८ महिनादेखि एमालेमा कसिएको गाँठो फुक्ने संकेत देखिएको हो।
पार्टीभित्रको विवाद समाधानका लागि बनाईएको विघटित वार्ता टोलीका सदस्य नेता शंकर पोखरेल असार २७ गतेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको कारण नेता नेपालसँग नगएका नेताहरूसहितको स्थायी कमिटी बैठक बसेर त्यसलाई कार्यान्वयनमा लगिने बताउँछन्। ‘अब पार्टी एकताको बाटोमा गयो।’ उनले भने, ‘सुखद खबरको अपेक्षा गर्न सकिन्छ।’
‘बटमलाईन’ एकता !
नेपालपक्षीय संयोजक रहेका भीम रावलसहितका केन्द्रीय सदस्य र सांसदहरूको गत शुक्रबारको भेलाले १० बुँदे सहमति अक्षरस पालना गराउन अध्यक्ष ओलीलाई बारम्बार ताकेता गरिरहेको थियो । उनीहरुले दिएको मंगलबारसम्मको ‘अल्टिमेटम’ अध्यक्ष ओलीले हिजो बालकोटस्थित निवासमा डाकिएको बैठकबाट स्थायी कमिटी बैठक बोलाएर विवाद समाधान गर्ने र १० बुँदे कार्यान्वयनमा जाने सहमति गरेसँगै पार्टीको ‘बटमलाईन’ एकतामा सहमति जुट्ने संभावना बलियो भएको हो । यसअघि लोकपथसँग कुरा गर्दै नेता पोखरेलले नेताहरूसँग निरन्तर संवादमा रहेका कारण १० बुँदे सहमति कार्यान्वयन शुरू भइसकेको बताएका थिए । उनले माधव नेपालमाथिको कारवाही फिर्ता लिन गरेको आग्रहको भने औचित्य सकिएको बताएका थिए।
यसअघिको बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्दैै जाँदा समस्या आईपरे समाधानका लागि कार्यदल बनाइने आन्तरिक सहमति भएको छ ।
माधव नेपालले एमालेबाट अलग भएर नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेर दर्ताको प्रक्रियामा रहेकोले र विपक्षी गठबन्धलाई सघाउने, पार्टीमा समानान्तर गतिविधी दोहोर्याईरहनेजस्त गतिवीधि गरेकोले ओली उनीप्रति अझै रुष्ट बन्दै गएका छन् । यता नेपाल पनि ओलीमा अहमताले सीमा नाघेको भन्दै कुनैपनि प्रस्ताव मान्न तयार छैनन्। अर्कोतिर पार्टी अध्यक्ष ओलीले नेपालबिनाको एमाले बनाउन यो चाल चलेको नेपालसँगै रहेका उनीपक्षीय नेताहरुको आरोप छ। यहि क्रममा अध्यक्ष ओली र नेपालबीचको ‘टसल’ का कारण पार्टी विभाजनको क्रममा दुई समूहमा विभक्त भएका नेताहरुसमेत नेपालको पार्टी दर्ता गराउने क्रममा पार्टी नेतृत्वसँग १० बुँदे कार्यान्वयनको शर्त अघि सारेर एकतामा नै जोड दिईरहेका थिए।
दुवै पक्ष आशावादी
सोमबार बालकोट छलफलमा सहभागी दुबै पक्षका नेताहरु १० बुँदे कार्यान्वयन हुनेमा आशावादी देखिएका छन् ।
तर लामो समय ओली र नेपाल पक्षमा रहेर एक दोस्रोविरुद्ध अलग गतिविधि गरेका कारण ओली पक्षमा गएर पूवर्वत सम्बन्ध विस्तारमा यी नेताहरुलाई केहि संकोच रहने निश्चित छ । तर अध्यक्ष ओलीले यी नेताहरुलाई जिम्मेवारी बाँडफाँडमा कुनै किसीमको अन्याय नगर्ने वाचा गरेका छन् । त्यसैले बैठकपछि नेताहरुले दिएको जवाफले यहि संकेत गरेको छ कि, उनीहरु आशावादी देखिन्छन् ।
सत्ता गठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीलाई विभक्त बनाएर गठबन्धन सरकारमा सामेल भएका माधव नेपालका कारण तत्कालीन नेकपा विभाजन भएको ओलीपक्षीय नेताहरुको ठम्याई छ ।
अब नेपालसँग नगएका र पार्टीको नियमित गतिबिधिमा पनि यसअघि आईनसकेका नेताहरूको जायज गुनासो सम्बोधन गरिने र अध्यक्ष ओलीको भनाईअनुसार सबैले २०७५ जेठ २ अघिको जिम्मेवारी पाउने निश्चित छ ।
नेता पोखरेल दोहोर्याउँछन्, ‘फेरि पनि सर्त राखेर समानान्तर गतिविधि गर्न भने अब छुट हुनेछैन ।’
हिजो (सोमबार) बालकोटमा पार्टीका स्थायी कमिटी सदस्यहरूसँग भएको छलफल पछि अध्यक्ष ओलीले आजका लागि स्थायी कमिटी बैठक बोलाउनुभएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
स्थायी कमिटीको बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बताइएको छ ।आन्तरिक छलफलका लागि भन्दै ११ बजे बोलाइएको बैठक ३ बजेसम्मका लागि सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि विभिन्न चरणमा वार्ता गरेका नेताहरुले पार्टी विवाद समाधानका लागि ओलीलाई ‘अल्टिमेटम’ दिएका थिए । निर्णायक वार्ताको लागि भन्दै ओली निवास बालकोटमा पुगेका दोस्रो तहका नेताहरुले पनि हिजोको बैठक महत्वपूर्ण भएको बताए ।
छलफलमा पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल लगायत यसअघि माधव नेपाल पक्षमा भनिएका तर पार्टी विभाजनमा साथ नदिएका दोस्रो तहका नेताहरु सहभागी थिए । बैठकमा ओलीले संविधानको अपव्याख्या गरेर मुलुकलाई पश्चगमनमा लैजान प्रयास भइरहेको बताएको ज्ञवालीले जानकारी दिए । बैठकमा सहभागी भएका तटस्थ पक्षले भने १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने कुरामा जोड दिएको ज्ञवालीले बताए।
आज बस्ने स्थायी कमिटी बैठकले एमालेको आन्तरिक विवाद समाधान गर्ने आशा लिइएको प्रवक्ता ज्ञवालीले लोकपथलाई बताए ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार १० बुँदे कार्यान्वन गर्ने सहमति भएकोले आजको बैठक यसैमा केन्द्रित हुनेछ । ‘१० बुँदे पहिले नै स्वीकार भइसकेको स्थीतिमा आज स्थायी कमिटी बसेर कार्यान्वयनमा लैजाने विषयमा सहमति गरिनेछ ।’ उनको भनाई छ ।
नेता नेपाल पार्टी दर्ता गरेर गठबन्धन सरकारमा जाने मुडमा पुगेको अवस्थामा दोस्रो पुस्ताका नेताहरुले भने बारम्बार अध्यक्ष ओलीले एकताको प्रयासस्वरुप आफूहरुले अघि सारेको माग सम्बोधन गरे एमालेमै रहने बताईरहेको सन्दर्भमा ओलीको बोलावटले नेकपा एमालेमा माधव कुमार नेपालबिनाको एमाले एकता हुनेमा ‘ग्रिन सिग्नल’ देखिएको छ । आजको बैठकमा यसअघि माधव पक्षमा रहेका १० जना नेताहरु सहभागी हुने बताईएको छ ।
के छ १० बुँदेमा ?
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलमा संसदीय दलका उपनेता नेम्वाङ, उपाध्यक्ष डा. भिम रावल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, सचिवद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, विष्णु रिमाल र रघुजी पन्त थिए भने उपाध्यक्ष युवराज ज्ञवाली, सचिव भीम आचार्य र योगेशभट्टराईलगायतले अनौपचारिकरूपमा उक्त सहमतिको कार्यान्वयनमा जोड दिँदै आएका थिए।
यस्तो छ १० बुँदे
१. केही समययता पार्टीका आन्तरिक अन्तर्विरोधहरू पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एक–अर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तर्विरोधहरूलाई पार्टीभित्रै विधिसम्मत् ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौँ ।
२. पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व ०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।
३. ०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक कामकारबाहीहरू स्वतः बदर भएका छन् ।
४. ०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले)मा रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरूलाई उहाँहरू नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा रहँदासरहको कमिटीमा संगठित गरिनेछ ।
५. पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेडहरूलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनीत गरिनेछ ।
६. प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत् एवं संस्थागत निर्णयअनुरूप हामी अगाडि बढ्नेछौँ ।
७. पार्टी तथा जनसंगठनहरू पूर्ववत् अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुन सक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाब दिन कार्यदल गठन गरिनेछ ।
८. यी निर्णयहरू आवश्यकताअनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महधिवेशन आयोजना गरी प्रस्तुत गरिनेछ ।
९. पार्टी, संसदीय दल र जनसंगठनहरूलाई विधि र पद्धतिसम्मत् किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकताबद्ध भई आ–आफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टीपंक्तिलाई आह्वान गरिएको छ ।
१०. कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिव कमरेडलाई अनुरोध गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया