काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।
काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।
सबै पार्टीलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ हुन गएको उनको स्पष्टीकरण थियो। सहमहामन्त्री महतले कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको बताए।
उनले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्ततालाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाए।
उनले भने, ‘सरकार नेपाली कांग्रेसको नेतृत्वमा, शेरबहादुर देउवाजीको नेतृत्वमा बनेको छ, चुनौती धेरै छन्, अवसर पनि छ, यो चुनौती पार गर्न सक्यौँ भने धेरै ठूलो अवसर कांग्रेससामु छ।’
सहमहामन्त्री महतले कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतसाथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रूपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए।
साथै, पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने उनको भनाइ थियो। सहमहामन्त्री महतले आगामी आमनिर्वाचन महत्वपूर्ण भएकाले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
उनले भने, ‘निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ कांग्रेसले एक्लै सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै फुल स्विङमा, नेपाली जनताको पक्षमा काम गर्न सक्षम हुनेछौँ।’
यसका लागि केन्द्रीकृत हुनुपर्नेमा उनले जोड दिए। उनले भने, ‘सत्तामा जनताको पक्षमा काम गर्न जाने हो, त्यो हाम्रो मूल लक्ष्य हो, अधिवेशन भनेको तात्कालिक पार्टीको बाँडफाँड विधिसम्मत तरिकाबाट गर्ने तरिका मात्रै हो।’
सहमहामन्त्री महतले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताए। उनले कम्युनिस्ट सरकारले नभएको कुरा बोलेको भएर नेपालमा बाहिरीको चियोचर्चा धेरै हुन थालेको आरोपसमेत लगाए। उनले नेपालले आफ्नो देशको स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया