पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको भीडभाड

धनगढी । धनगढी उपमहानगरपालिका यादव भण्डारी साउन पहिलो साता डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ छतिवनमा रहेको छहरा झर्ना पुगे । शनिबार बिदाका दिन उनी परिवारसहित सो झर्नामा पुगी रमाएर आए । उनले आफ्नो सामाजिक सञ्जालमा त्यहाँ पुगेको देखाउँदै –‘छहरा झर्ना डोटीको अवलोकन गरियो’ तस्बिरसहित पोष्ट गरेका छन् ।

धनगढी उपमहानगरपालिका बस्दै आएकी अम्बिका मल्लले कञ्चनपुरको महेन्द्रनगरस्थित छ लेन सडकमा केही साथीहरूले टिकटक बनाएर पोष्ट गरेको देखिन् । बिदाको मौका छोपी भीडभाडमै उनी पनि सोही स्थानमा टिकटक बनाउन पुगिन् । उनले टिकटक र तस्बिर खिचेर सामाजिक सञ्जालमा भाइरल रोडमा भन्दै पोष्ट गरेकी छिन् ।

कञ्चनपुरकी शिला महराले डोटीको छहरा झर्नामा तीजको गीतमा नाच गरिरहेको भीडभाडको भिडियो टिकटकमा राखेकी छिन् । उनले राखेको टिकटकमा पनि न कसैले मास्क लगाएका छन् न त भौतिक दूरी नै छ । मास्क लगाएर साथीसँग झर्ना पुग्दा, टिकटक बनाउँदा झर्नामा उनले पनि मास्क खोलेर बसेकी छिन् ।

कोरोना संक्रमणको दोस्रो लहरमा केही कमी आएसँगै व्यावसायिक तथा पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । अहिले झर्नालगायत विभिन्न पर्यटकीय स्थलहरूमा निकै चहलपहल बढेको छ । कोरोना संक्रमण ओरालो लागेका बेला निशेधाज्ञा खुकुलो गरिए पनि अहिले फेरि संक्रमण उकालो लागेको छ ।

सहरी क्षेत्रमा मास्क नलगाएरै हिँडेमा प्रहरीले जरिवाना काट्छ तर यी पर्यटकीय क्षेत्रमा हुने हजारौँको भीड हेर्दा कोरोना टाढैबाट भाग्छ कि लाग्छ । डोटीको जोरायल गाउँपालिकामा पर्ने छहरा झरना, कञ्चनपुरको महाकाली छेउमा रहेको भाइरल रोड, कैलालीको चिसापानी, हाडखोली क्षेत्रमा अहिले दैनिक हजारौँ मानिसको भीड हुन्छ । तर यो भीडमा मास्कको प्रयोग गर्ने निकै कम भेटिन्छन् ।

डोटीको जोरायल गाउँपालिका बुडर नजिकै पर्ने छहरा झर्नामा रमाउनेहरूको अहिले भीड देख्न सकिन्छ । कैलाली र कञ्चनपुरबाट अधिकांश मानिस यो झर्नामा पुग्ने गरेका छन् । झर्नामा पुग्ने अधिकांश पर्यटकहरू नुहाएर आउँछन् ।

तराई क्षेत्रबाट मास्क लगाएर हिँडेका पर्यटकहरू खानिडाँडा नपुग्दै मास्क खल्तीमा हाल्छन् । किनकि त्यहाँ जरिवाना तिर्नुपर्दैन ।

खनिडाँडामा विगत ८ वर्षदेखि होटल ब्यवसाय गर्दै आएका नविन रावतले यहाँ पुग्ने अधिकांश मानिस बिनामास्क नै आउने गरेको बताए । ‘अनिवार्य मास्क या सुरक्षा उपाय अपनाउनमा धनगढी महेन्द्रनगरतिर कडाइ होला यता केही हुँदैन त्यही भएर बिनामास्क हिँड्ने गर्छन्’, उनले भने, ‘ शुक्रबार र शनिबार यहाँ निकै भीडभाड हुन्छ, खानिडाँडामा अलि राम्रो सेवा दिने होटेलले एक लाखदेखि डेढ लाखसम्मको कम्तीमा पनि कारोबार गर्छन् ।’ बिहानै बुडर झर्ना जानेहरू फर्केर यहाँ बस्ने गर्छन्, पर्यटकीय क्षेत्रको विकास भए व्यवसाय पनि फस्टाउने तर सबैले यस्तो बेला सतर्कता अपनाए सबै सुरक्षित हुने कुरा उनले बताए ।

बुडरको छहरा झर्नामा बिदाको दिन पारी बढीजसो पर्यटकहरू पुग्ने गर्दछन् । बिदाको दिनमा १० हजारसम्म पर्यटक पुग्ने गरेको जनाइएको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बिदाको दिनमा त ५ देखि १० हजारसम्म पर्यटक पुग्ने गरेको बताए ।

‘बिस्तारै यसको विकास र प्रचारप्रसार भइरहेको छ’, ओझाले भने, ‘झर्नासम्म पुग्ने बाटो बनाएका छौँ । अन्य कामका लागि डीपीआर बनाइरहेका छौँ ।’ उनले अहिले बढी भीडभाडले संक्रमण विस्तार हुने हो कि भन्ने चिन्त रहेको बताए ।

‘मानिसको चाप बढ्दा यहाँको व्यवसाय पनि वृद्धि भएको छ’ उनले भने ‘तर कहिलेकाँही व्यवस्थापनमा चुनौती थपिन्छ र भीडभाडले संक्रमणको पनि जोखिम बढेकाले यसको व्यवस्थापनका लागि छलफल गरिरहेका छौँ छिटै निर्णय हुन्छ ।’

डोटीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले झर्नामा भीडभाड बढेको र सतर्कता अपनाउनका लागि जोरायल गाउँपालिकालाई निर्देशन दिइसकेको बताइन् ।

‘जिल्ला प्रशासन कार्यालयभन्दा पनि स्थानीय तहले हो यो व्यवस्थापन गर्ने’, जोशीले भनिन्, ‘हामीले गाउँपालिका अध्यक्षज्यूलाई भीडभाड नहुने गरी झर्नामा पर्यटक भित्र्याउने गरी काम गर्नुस् भनिसकेका छौँ, त्यो केही दिनबाटै कार्यान्वयन हुन्छ होला ।’

‘पुलिसले लाठी हानेपछि मात्रै नत्र आफ्नो स्वास्थ्यकै ख्याल नगर्ने हाम्रो संस्कृति नै बसिसकेको छ’ जोशीले भनिन्, ‘तर आफैँ कोही पनि सचेत भएको पाइएन । त्यही भएर गुनासो आएपछि हामीले भनिसकेका छौँ एक पटकमा १० जना मात्रै जान पाउने या एक टिम मात्रै जान पाउने गरी सकेसम्म कम भीड गराउने गरी गाउँपालिका र सम्बन्धित शुरक्षा निकायले काम गर्नेछन् ।’

प्रहरी परिचालित छ, नपुगे फेरि खटाउँछौँ : सुरक्षा अधिकारी
डोटीको छहरा झर्ना मात्र होइन कैलालीको खानीडाँडा, घोडाघोडी ताल, कर्णाली पुललगायत र कञ्चनपुरको छ लेन सडकलगायतका विभिन्न पर्यटकीय स्थलमा पनि आन्तरिक पर्यटकहरूको भीडभाड बढेको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयले मास्क प्रयोग नगरेका व्यक्तिबाट सय रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको भए पनि पर्यटकीय स्थलहरूमा सुरक्षाकर्मीको उपस्थिति नहुदा समस्या भएको छ ।

कोरोनाबाट बचाउनकै लागि कैलालीमा पनि प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान ल्याएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । ‘हामीले बाटो–बाटोमा चेकजाँच गरेर मास्क नलगाउनेलाई जरिवाना समेत गर्नेगरेका छौँ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘प्रहरी नपुगेको ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएको होलान्, चिसापानी पुल, हाटखोली क्षेत्रमा पनि अब प्रहरी परिचालन गर्छौँ ।’

कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले पनि कञ्चनपुरको महेन्द्रनगरको छ लेन सडकलगायत पर्यटकीय स्थलहरूमा भीडभाड बढेको बताए । उनले भने, ‘भीडभाड नबढाउने आदेश दिएका छौँ । सुरक्षा निकाय समेत पुगेर त्यस्ता ठाउँमा स्वास्थ्य मापदण्डको पालना गराउने, मास्क अनिवार्य प्रयोग गराउने, क्षमताभन्दा बढी मानिसलाई प्रवेश गर्न नदिने लगायतका कार्य गरिरहेका छौं ।’

उनले सामान्य अनुरोधका भरमा अहिले कुनै पनि स्थलमा नियम पालना नभइरहेको बताए । उनले भने, ‘हामीले संक्रमणदरका आधारमा निर्णय गर्ने हो । अहिले जिल्लामा संक्रमितको संख्या कम छ । केही जिल्लामा संक्रमणदर बढेको पनि देखिएको छ ।’ उनले संघीय सरकारको कोभिड १९ जोखिम नियन्त्रण, व्यवस्थापन तथा रोकथाम समितिले थप निर्णय गर्नुपर्ने बताए ।

पर्यटकीय स्थलको पहिचान गराउँदै सामाजिक सञ्जाल
डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा रहेको झर्नामा केही वर्षअघिसम्म खासै चहलपहल हुन्थेन । तराईमा गर्मी बढे यहाँका मानिस गर्मी छल्न खानीडाँडा, गोदावरी, कर्णाली र आसपासका नदीमा जान्थे ।

सामाजिक सञ्जालमा सो छहरामा खिचिएका तस्बिर धमाधम देखिन थालेपछि पछिल्लो समय सोही छहरामा टिकटक तथा फेसबुकमा फोटो राख्न भए पनि मानिसहरू जान लागेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित हार्टखोली नदीको नाम तीन वर्षअघिसम्म तराईका बासिन्दालाई थाहा थिएन । तीन वर्षयता भने तराईमा गर्मी बढे सो नदी पनि स्थानीयको रोजाइमा पुगेको छ । धनगढी–स्याउले–दिपायल सडकखण्डअन्तर्गत पर्ने सो नदीमा अहिले नुहाउनकै लागि भए पनि कैलाली र कञ्चनपुरका तराई क्षेत्रका मानिस गइरहेका छन् ।

कस्तो छ छहरा झर्ना ?
माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज ।

यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झर्ना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झर्ना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

हिजोआज यो झर्नामा जिल्लाभित्रका मात्र नभएर रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?