लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, विपक्षी अनुपस्थित

लोकपथ
247
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार लुम्बिनी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री केसीले ४२ मतसहित विश्वासको मत पाएका हुन् ।

आफूलाई प्रदेशसभाको विश्वासको छ भन्ने प्रमाणित गर्न बोलाइएको बैठकमा उनको विपक्षमा शून्य मत परेको थियो छ ।

आज सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेशको प्रदेश सभामा कुल ८० जना सांसदहरु रहेका छन् । जसमध्ये आजको बैठकमा ४३ सांसदको उपस्थिति रहेको थियो । जसमध्ये १ जना तटस्थ बसेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

गत साउन २७ गते माओवादी संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार प्रमुख भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार उनले आज विश्वासको मत लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?