‘सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु संसदीय मर्यादाविपरीत’ (विज्ञप्तिसहित)

लोकपथ
130
Shares

काठमाडौं । सत्ता पक्षका सांसदहरुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्तिको दिएको भन्दै आपत्ति जनाएका छन् ।

गत भदौ ३ र ४ गते सभामुखको कार्यकक्षमा दबाबका लागि पुगेका प्रतिपक्षी दलका सांसदहरु र पूर्वप्रधानमन्त्री समेत रहेका विपक्षी दलका नेताले दिएको अभिव्यक्ति संसदीय मर्यादा विपरित रहेको बताएका छन् ।

आज सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा समाजवादी एकीकृतका सांसदहरुले विज्ञप्ति जारी गर्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन् ।

सोमबार संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘यही २०७८ भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालय, सम्मानीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका माननीय सदस्यहरुले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरित बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोहि दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्मानीय सभामुखज्यू विरुद्ध दिनुभएको धम्कीपूर्ण अभिव्यक्तिको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ ।’

सत्तापक्षका सांसदहरुले सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संसदको संरक्षक समेत रहेको बताउँदै सभामुखविरुद्धको धम्कीपूर्ण अभिव्यक्तिले संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको बताएका छन् ।

संवैधानिक मर्यादा कायम गर्नु सांसदहरुको दायित्व रहेको बताउँदै सभामुख समक्ष मर्यादाको अबलम्बन गर्न समेत आग्रह गरेका छन् ।

‘नेपालको संवैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापितकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि हो । सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्’ जारी विज्ञप्तिमा भनिएको छ । ‘संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुका दायित्व हो । अतः सम्माननीय सभामुखज्यूविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आह्वान गर्दछौँ’

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदहरुलाई गरेको कारबाही तत्काल सदर गर्न माग गर्दै विपक्षी दलका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । दबाब दिन पुगेका सांसदहरुले सभामुख समक्ष धम्कीपूर्ण भाषा बोलेको भन्दै विवाद भएको थियो । भने सोही दिन पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई कुन पार्टीको भन्दै प्रश्न समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?